२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

चितवनमा ७० शैयाको कोरोना विशेष अस्थाई अस्पताल बन्दै

चितवनको भरतपुरमा ७२ घण्टाभित्र निर्माण गरिने भनिएको ‘कोरोना विशेष अस्थाई अस्पताल’ शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।

भोलि बिहान १० बजे अस्पतालको उद्घाटन गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

‘भोलि १० बजेबाट सञ्चालनमा ल्याउने हिसाबले सबै काम भइरहेको छ,’ उनले भनिन्।

भरतपुर महानगरपालिका-१० स्थित उद्योग संघको भवनको तीनटा हललाई अस्थाई अस्पतालको रूपमा स्थापना गर्न लागिएको हो।

अस्पतालमा ५० वटा जनरल बेड, एक्स रे मेसिन र अन्य उपकरण जडान भइसकेको छ। अहिले आइसियू र एचडियू बेड राख्ने काम जारी छ।

कम्तीमा ५० वटा जनरल बेड तयार गरेर निर्धारित समय अनुसार नै उद्घाटन गर्ने तयारी महानगरले गरेको छ।

‘७२ घण्टाको समयवधि भोलि बिहान १० बजे सकिँदैछ। हामी त्यहीबेला अस्पतालको उद्घाटन गर्छौं,’ मेयर दाहाले भनिन्। 

दश-दश वटा आइसियू र एचडियू बेड जडान गर्ने काम पनि भोलिसम्म सक्ने महानगरको तयारी छ।

अहिले सेना, प्रहरी, सशस्त्र, चिकित्सक र सर्वसाधारण समेत गरेर १ सय ५० जना जनशक्ति काममा खटिएका छन्।

‘समयसीमा तोकेर काम गर्दा त्यसले सबैलाई काम गर्न दबाव दिन्छ भनेर ७२ घण्टाको अल्टिमेटम तोक्यौं। हामी जसरी पनि समयमै काम सकेर देखाउँछौं,’ उनले भनिन्।

मेयर दाहालले भरतपुर मेडिकल सिटी भएकाले पनि यहाँ रहेका चिकित्सक र विज्ञहरूको सहकार्यमा काम गर्न सजिलो भएको बताउँछिन्।

उनले क्यान्सर अस्पताललगायत अन्यले पनि बेड लगायत अन्य उपकरणहरू सहयोग गरेको बताइन्।

आजै बेलुका समितिले अस्पतालमा कति स्वास्थ्यकर्मी खटिने भन्ने पनि टुंगो लगाउने छ।

अहिले पनि स-साना उपकरण जडान र अन्य व्यवस्थापनको काम बाँकी रहेकाले धमाधम काम भइरहेको छ।

रातभरि पनि काम जारी रहने र भोलि बिहानदेखि अस्पताल सञ्चालनमा आउने दाहालले बताइन्।

मंगलबार भरतपुर महानगरले ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो।

अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ।

साथै, कोरोना शंकास्पद व्यक्तिको नमूना परीक्षण गर्न केन्द्र पठाउनुपर्नेबारे पनि महानगरले केन्द्र सरकारसँग कुरा गर्ने जनाएको छ।

‘हामीले भरतपुरमै कोरोनाको नमूना परीक्षणको जाँच गर्ने ल्याबको व्यवस्था गर्न केन्द्रसँग कुरा गर्छौं,’ मेयर दाहालले भनिन्।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र ६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP