२०८३ आश्विन १८, आईतवार
October 4, 2026, Sunday

विद्यालयलाई डिजिटल प्रविधिसँग जोड्दै शिखर सरकार 

 

दिपायल – डोटीको शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका विद्यालयहरुलाई डिजिटल प्रविधिसँग जोड्दै छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिका अन्तर्गतका कक्षा १ देखि १२ सम्मका सबै विद्यालयहरूमा स्मार्ट बोर्ड मार्फत पठनपाठन गर्ने गरी तयारी थालेको हो ।

डिजिटल बोर्ड जडानका लागि नगरपालिकाले एक करोड ६० लाख बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । शुक्रबार एक कार्यक्रमका बीच केही विद्यालयहरुलाई डिजिटल बोर्ड, ल्यापटप, कलर प्रिन्टर तथा ह्वाइट बोर्ड वितरण गर्दै उनले चालु आर्थिक वर्ष भित्र नगरपालिकाका सबै विद्यालयहरुलाई डिजिटल प्रविधिसँग जोड्ने बताए ।

“शिखरलाई शैक्षिक हबका रूपमा विकास गर्ने हाम्रो लक्ष्य थियो । हामी हाम्रो लक्ष्य नजिक पुगेका छौं,”नगर प्रमुख बलायरले भने,” विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा धेरै सुधार आएको छ । अहिलेको दुनियाँ डिजिटल प्रविधिको हो । अब हामीले हाम्रा विद्यार्थीहरूलाई स्मार्ट बोर्ड मार्फत पढाउने तयारी गरेका छौं । जसका लागि स्रोत सुनिश्चित गरेका छौं र टेन्डरको प्रक्रियामा छौँ ।”

विद्यालयमा उपलब्ध, कम्प्युटर ल्याब, साइन्स ल्याब, इन्टरनेट लगायत स्मार्ट बोर्डको सदुपयोग र उचित प्रयोग हुनु पर्ने नगर प्रमुख सुनिता रावल जोरले बताइन् । नगर सरकारले आफ्नो कार्यकालको अन्तिम दिनसम्म पनि शिखरकाे शैक्षिक क्षेत्रमा लगानी गर्न तयार रहेको बताउँदै उनले विद्यालयमा भएका भौतिक तथा शैक्षिक सामग्रीको उचित प्रयोग हुनुपर्ने बताइन् ।

नगरपालिकाले शुक्रबार नगरपालिका अन्तर्गतका विद्यालयहरुलाई दुई वटा स्मार्ट बोर्ड, केही थान ल्यापटप र ९४ वटा ह्वाइट बोर्ड वितरण गरेको थियो ।

 

Related News

डोटीको सायली गाडले बगायो दुई किसान, महिलाको शव फेला, पुरुष बेपत्ता 
डोटीको सायली गाडले बगायो दुई किसान, महिलाको शव फेला, पुरुष बेपत्ता 
  • २०८३ आश्विन १७

  दिपायल — डोटीको आदर्श गाउँपालिका–५ तलाराकी एक महिलाको सायलीगाड...

TOP