२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस तथा पत्रकारमाथि सामाजिक सञ्जालमार्फत हुने साइबर आक्रमण, मानहानी र अभद्र व्यवहारविरुद्ध सिधै कानुनी लडाइँ लड्ने निर्णय गरेको छ। शाखाको आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष पवन महरा नेतृत्वको कार्यसमितिले उक्त निर्णय गरेको हो ।

 

शाखाको नवगठित कार्यसमितिको साेमबार बसेको पहिलो बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै पत्रकारिता क्षेत्रको मर्यादा, मिडियाको संरक्षण र पत्रकारहरूको सुरक्षालाई प्राथमिकतामा राख्ने जनाएको छ।

 

# साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ

 

पछिल्लो समय मिडिया र मिडियाकर्मीमाथि सामाजिक सञ्जालमार्फत आक्रमण गर्ने, मानहानी गर्ने तथा अपशब्द प्रयोग गर्ने घटनाप्रति नेपाल प्रेस युनियन डोटी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

 

समाचारका विषयमा कुनै असहमति वा गुनासो भए त्यसका लागि प्रक्रियागत तथा कानुनी बाटो खुला हुँदाहुँदै पनि मिडिया, मिडिया हाउस र मिडियाकर्मीमाथि अभद्र, अमर्यादित तथा अपशब्द प्रयोग गरी साइबर आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको शाखाको ठहर छ।

 

मिडिया हाउस र पत्रकारमाथि मात्रै नभई समग्र पत्रकारिता पेशाकै मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठ्ने गरी साइबर हमला गर्ने व्यक्ति, समूह वा समुदायविरुद्ध अब सिधै कानुनी लडाइँ लड्ने निर्णय गरिएको नेपाल प्रेस युनियन डोटीले जनाएको छ।

 

साथै, शाखाले सम्पूर्ण पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पनि आग्रह गरेको छ।

 

साइबर अपराध तथा पत्रकारसम्बन्धी कानुनी विषयमा आवश्यक कानुनी सहायता र सहयोगका लागि अधिवक्ता लवदेव भट्टलाई कानुनी सल्लाहकारका रूपमा चयन गरिएको छ।

 

# जिल्लाका मिडिया हाउसको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरिने

 

डोटी जिल्लामा सञ्चालित मिडिया हाउसहरूको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै नेपाल प्रेस युनियन डोटीले गम्भीर चासो व्यक्त गरेको छ।

 

आर्थिक अभावका कारण जिल्लामा सञ्चालित कतिपय मिडियाहरू बन्द हुने अवस्थामा पुगेका छन्। कमजोर विज्ञापन बजार, दक्ष जनशक्तिको अभाव तथा मिडियाले पाउँदै आएका सेवा–सुविधामा भइरहेको कटौतीका कारण मिडिया र मिडियाकर्मी थप जटिल परिस्थितिबाट गुज्रिरहेकाे बैठकको निष्कर्ष छ ।

 

सरकारले मिडियाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने अवस्थामा उल्टै मिडियाले पाउँदै आएका सेवा–सुविधासमेत कटौती हुँदै गएको शाखाले जनाएको छ।

 

यस जटिल परिस्थितिमा नेपाल प्रेस युनियन डोटी शाखाले जिल्लामा रहेका मिडिया हाउसहरूको स्थलगत अवलोकन गर्ने, वास्तविक अवस्थाबारे तथ्यगत प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदन जिल्लास्तरीय तथा माथिल्लो तहका सम्बन्धित सरोकारवाला निकायमा पेश गर्ने निर्णय गरेको छ।

 

मिडिया क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्ने पनि शाखाले जनाएको छ।

 

# बाढीपीडितप्रति श्रद्धाञ्जली तथा सरकारसँग उद्धार र पुनर्स्थापनाको माग

 

भोटेकोशी बाढीपछि देश शोकमा रहेका बेला नेपाल प्रेस युनियन डोटी शाखाले पनि गहिरो दुःख व्यक्त गरेको छ।

 

बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाखाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

 

साथै, बाढीमा बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न, पीडितहरूलाई उचित राहत उपलब्ध गराउन तथा सुरक्षित र व्यवस्थित पुनर्स्थापनाको व्यवस्था गर्न शाखाले सरकारसँग जोडदार माग गरेको छ।

 

# सहयोगीप्रति धन्यवाद तथा बैंक खाता परिवर्तन गर्ने निर्णय

 

नेपाल प्रेस युनियन डोटी शाखाको नवौँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, तथा सरोकारवालाप्रति शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

 

त्यस्तै, शाखाले आफ्नो बैंक खाता परिवर्तन गर्ने निर्णयसमेत गरेको जनाएको छ।

 

नव निर्वाचित अध्यक्ष महराले पत्रकारिता क्षेत्रको मर्यादा, पत्रकारको सुरक्षा, मिडियाकर्मी क्षमता विकास, मिडियाको संरक्षण, संस्थागत तथा जिल्लाको समग्र सञ्चार क्षेत्रको विकासका लागि आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०८३ भाद्र २२

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP