काठमाडौं – सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। आयात रोकिएसँगै नेपाली बजारमा स्थानीय उत्पादनको माग बढ्दा किसान प्रत्यक्ष लाभान्वित भएका हुन्।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार अहिले किसानले बारीबाटै प्रतिगाँठ (कोसा) केरा रु. ६ सम्म मूल्य पाउन थालेका छन्।
उनका अनुसार यो काँचो केराको मूल्य हो। गत वर्ष यही समयमा किसानले एउटाको केरा रु. २ देखि रु. ३ मा बिक्री गर्नुपर्ने अवस्था रहेको थियो।
महतोका अनुसार गत असोजदेखि भारतबाट केरा आयात रोकिएपछि यस वर्ष चितवनका किसानले सात लाख नयाँ बिरुवा थप रोपेका छन्।
हाल जिल्लामा करिब तीन हजार बिघा जमिनमा केराखेती भइरहेको छ, जहाँबाट वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ।
चितवनमा मालभोग, जिनाइन र बिलियम हाइब्रिड जातका केरा उत्पादन हुँदै आएको छ।
केरा उत्पादक संघका अनुसार जिल्लामा करिब ७०० किसान व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। मुख्य रूपमा कालिका र रत्ननगर नगरपालिका क्षेत्रमा व्यावसायिक खेती हुने गरेको छ भने अन्य स्थानीय तहमा पनि खेती विस्तार भइरहेको छ।
संघका अनुसार अधिकांश किसानले जग्गा भाडामा लिएर केराखेती गरिरहेका छन्।
चितवनमा उत्पादन हुने केरा काठमाडौं, पोखरा, दाङ, वीरगञ्ज र हेटौँडा लगायतका प्रमुख बजारमा बिक्री हुने गरेको छ।
संघका अनुसार फागुनदेखि वैशाखसम्म उत्पादन केही कम भए पनि वर्षको अन्य समयमा पर्याप्त उत्पादन हुने गरेको छ। केरा रोपेको १० महिनादेखि एक वर्षभित्र उत्पादन लिन सकिने जनाइएको छ।
स्थानीय किसानले आयात नियन्त्रणको नीतिलाई निरन्तरता दिए स्वदेशी उत्पादन अझ बढ्ने र कृषकको आम्दानीमा समेत उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका छन्।
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...