धनगढी । देशभर मनसुनी वायूको प्रभाव कायम रहँदा सुदूरपश्चिमसहित विभिन्न प्रदेशका स्थानमा आइतबार बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको छ। यसको प्रभावका कारण कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको हो।
महाशाखाका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा मापन भएको छ। झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर तथा दोलखाको सिंगटीमा ९.४ मिलिमिटर वर्षा भएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा बाँकी हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिमलाई ध्यानमा राख्दै विशेष गरी नदी तटीय क्षेत्र र पहाडी भू–भागका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
साउनदेखि धनगढीका निजी विद्यालयमा ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ थपिने...