२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

शुक्लाफाँटामा अनुमति बिना घुम्ती व्यापार गर्न नपाइने, उल्लंघन गरे कारबाही हुने

शुक्लाफाँटामा अनुमति बिना घुम्ती व्यापार गर्न नपाइने, उल्लंघन गरे कारबाही हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पूर्व स्वीकृतिबिना सञ्चालन हुने घुम्ती व्यापार व्यवसायमा कडाइ गर्ने भएको छ। नगरपालिकाले अनुमति नलिई सवारी साधनमार्फत व्यापार व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रकलगायतका सवारी साधन प्रयोग गरी पूर्व स्वीकृतिबिना व्यापार भइरहेको गुनासो बढेपछि अनुगमन र नियन्त्रणलाई कडा बनाइएको हो।

नगरपालिकाका अनुसार हाल बजार तथा ग्रामीण क्षेत्रमा अनुमति नलिई घुम्ती व्यापार गर्ने अधिकांश व्यक्ति भारतीय नागरिक रहेको पाइएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

यससँगै नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन पनि विशेष अभियान सञ्चालन गरेको छ। स्थानीय सडक, सडक किनारा तथा सार्वजनिक स्थानमा पशुचौपाया बाँध्ने, बालुवा, गिट्टी, ढुङ्गा, काठ, इँटा, माटोलगायत निर्माण सामग्री थुपार्ने तथा पूर्व स्वीकृतिबिना सडक खन्ने कार्य नगर्न आग्रह गरिएको छ।

नगरपालिकाले यस्ता गतिविधिका कारण सर्वसाधारण र सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढ्ने जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत बिष्टले सडक क्षेत्रमा अवरोध पुर्‍याउने वा क्षति गर्ने कार्य गरेको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि–२०७६ बमोजिम कारबाही गरिने स्पष्ट पारे।

नगरपालिकाले सडक अतिक्रमण हटाउने, अनधिकृत व्यापार नियन्त्रण गर्ने तथा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले नगर प्रहरी परिचालन गरी नियमित अनुगमन र सचेतीकरण अभियान सञ्चालन गरिरहेको जनाएको छ।

 

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २२

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP