२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

१५औँ महाधिवेशनको समानान्तर तयारीमा कांग्रेस इतर पक्ष, चुनदेवीमा सम्पर्क कार्यालय स्थापना

१५औँ महाधिवेशनको समानान्तर तयारीमा कांग्रेस इतर पक्ष, चुनदेवीमा सम्पर्क कार्यालय स्थापना

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनको समानान्तर तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ। पार्टी संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेका बेला असन्तुष्ट समूहले छुट्टै कार्यालयमार्फत आफ्ना गतिविधि अघि बढाउने तयारी गरेको हो।

नेता विमलेन्द्र निधिका अनुसार सम्पर्क कार्यालयका लागि भवन लिइसकिएको छ भने हाल रङरोगनको काम भइरहेको छ। दुई–तीन दिनभित्र कार्यालय सञ्चालनमा आउने र यसको नाम ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ राखिने उनले जानकारी दिए।

इतर पक्षले समानान्तर महाधिवेशनको तयारी गर्ने वा पार्टी विभाजनतर्फ जाने भन्ने विषयमा भने अहिलेसम्म कुनै अन्तिम निर्णय नगरेको जनाएको छ। नेता निधिले आफूहरू पार्टी एकताकै पक्षमा रहेको उल्लेख गर्दै संस्थापन पक्षले गम्भीरता नदेखाएकाले समानान्तर तयारी सुरु गर्नुपरेको बताए।

इतर पक्षले यसअघि नै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत संस्थापन पक्षलाई विभिन्न मागसहित लिखित प्रस्ताव बुझाइसकेको छ। प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्नुपर्ने, साथै निर्वाचन, सदस्यता छानबिन, अनुशासन तथा विधान संशोधन समितिमा दुवै पक्षको समान सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

यता, संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले वर्तमान विधानअनुसार सबै पूर्व केन्द्रीय सदस्यलाई समायोजन गर्न कठिन रहेको बताएका छन्। उनले सभापतिलाई बाँकी रहेका मनोनित केन्द्रीय सदस्यका स्थानमध्ये केही इतर पक्षलाई दिन सकिने र महाधिवेशन तयारीका लागि छुट्टै राजनीतिक संयन्त्र बनाउने विषयमा पनि छलफल हुन सक्ने बताएका छन्।

यसबीच, इतर पक्षभित्रै पनि पार्टी विभाजन गर्ने वा पार्टीभित्रै रहेर संघर्ष जारी राख्ने विषयमा एकमत देखिएको छैन। केही नेताले कांग्रेसभित्रै रहेर समाधान खोज्नुपर्ने धारणा राखेका छन् भने नेतृत्व तहमा सहमतिको प्रयास जारी रहेको बताइएको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार १९

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP