सुदूरपश्चिममा २–३ दिनभित्र मनसुन सक्रिय हुने, पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानः सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा, तराईमा मध्यम वर्षाको सम्भावना
धनगढी |
जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशभर आगामी २ देखि ३ दिनभित्र मनसुन पूर्ण रूपमा विस्तार हुने जनाएको छ। हाल प्रदेशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहे पनि मनसुनी प्रणाली क्रमशः सक्रिय बन्दै गएको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थान तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
देशभर मनसुन सक्रिय बन्दै
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनीका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि केही दिनभित्र मनसुन पूर्ण रूपमा फैलिने मौसमविद्ले बताएका छन्।
सोमबार बिहान देशका सातै प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भएको छ। पछिल्लो २४ घण्टामा लमजुङको भोर्लेटारमा १२२ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११६.४ मिलिमिटर, नवलपुरको दम्कौलीमा ११२.८ मिलिमिटर तथा कपिलवस्तुको भगवानपुरमा ८४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
सतर्क रहन आग्रह
यद्यपि भारीदेखि धेरै भारी वर्षाको मुख्य सम्भावना कोशी प्रदेशमा रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सुदूरपश्चिममा व्यापक भारी वर्षाको पूर्वानुमान नरहे पनि मेघगर्जन, चट्याङ र स्थानीय वर्षाका कारण नदी, खोल्सा तथा पहाडी क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
विशेषगरी किसान, यात्रु तथा पहाडी सडकमार्ग प्रयोग गर्ने नागरिकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ।
गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...