दिपायल – जेनजी आन्दोलनपछि हरेक राजनीतिक दलमा नेतृत्व परिवर्तन हुनुपर्ने भन्ने आवाज चलिरहेका बेला नेपाली कांग्रेस वृत्तमा पनि सो आवाज उठेको छ । कांग्रेस भित्र नियमित १५ औं महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा हालसम्म एकिन नभए पनि एक पक्षले विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
कांग्रेस विशेष महाधिवेशनका पक्षमा सुदूरपश्चिममा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । ४ सय महाधिवेशन प्रतिनिधि रहेको सुदूरपश्चिममा शनिबार सम्म ३५.७५ प्रतिशत ( १४३ जना) ले हस्ताक्षर गरेको हस्ताक्षर अभियानका एक सदस्यको दाबी छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा १ सय २५ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये यो समाचार तयार पार्दासम्म विशेष महाधिवेशनको पक्षमा ३३ जनाले हस्ताक्षर गरेको हस्ताक्षर अभियानका एक सदस्यले बताए । कैलाली क्षत्र नम्बर २ मा १४ जना, क्षेत्र नम्बर ३ मा ५ जना, क्षेत्र नम्बर ४ मा ९ जना र क्षेत्र नम्बर ५ मा ५ जनाले हस्ताक्षर गरेका छन् ।
यस्तै दार्चुलामा १२ जना, बैतडीमा १५ जना, बाजुरामा १८ जना, अछाममा २९ जना, डोटीमा १५ जना, बझाङमा १४ जना, पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा ५ जनाले हस्ताक्षर गरे पनि पछि सबैले फिर्ता लिएका छन् । कञ्चनपुरमा ७ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको हस्ताक्षर अभियानका सदस्यले दाबी गरेका छन् ।
पार्टी सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधि रहेको डोटीमा १६ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको हस्ताक्षर अभियानका सदस्यको दाबी छ। यो तथ्याङ्क फूलबारी खबरको स्रोतले दाबी गरे अनुरूप प्रकाशित तथ्याङ्क हो ।
नेपाली कांग्रेसको विधानअनुसार कूल महाधिवेशन प्रतिनिधिको कारणसहित ४० प्रतिशत हस्ताक्षरसहितको निवेदन पेश गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउने व्यवस्था छ । केही दिन पहिला नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा सकभर नियमित महाधिवेशन गर्ने, नभए विशेष महाधिवेशन गर्ने आवाज उठेको थियो । जेनजी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सुदूरपश्चिम कांग्रेस सभापति देउवाको गृह प्रदेश हो । जहाँ उनको पकड बलियो छ । आगामी रणनीति तयार गर्न नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । एक वर्ष म्याद थपिएन भने नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरमा देउवा नेतृत्वको ४ वर्षे कार्यकाल सकिँदै छ ।
देशभर विशेष महाधिवेशनको पक्षमा ५० प्रतिशत हस्ताक्षर पुगेको हस्ताक्षर अभियानकर्ताहरुले दावी गरे पनि यो समाचार तयार पार्दासम्म विशेष महाधिवेशनको पक्षमा सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत हस्ताक्षर पुगेको छैन । ४० प्रतिशत हस्ताक्षर पुग्नका लागि १६० जना आवश्यक पर्छ ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...