२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०८१” बाट पुरस्कृत भएका छन् । तीन दशक भन्दा बढी समय देखि नाट्य तथा संगीतको क्षेत्रमा साधनारत रही विशिष्ट योगदान पु-याएको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले अभिनन्दन-पत्र र नगदसहित पुरस्कृत गरेको हो ।

आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा धनगढीमा आयोजित “प्रादेशिक प्रतिभा पुरस्कार समर्पण, स्रस्टा सम्मान, कृति लोकार्पण तथा साहित्यिक – सांस्कृतिक उत्सव – २०८२” कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले रावललाई अभिनन्दन पत्रसहित पुरस्कार हस्तान्तरण गरेका हुन् ।

डोटीको केआइसिंह गाउँपालिका – २ का स्थायी बासिन्दा रावल लामो समय देखि नाट्य तथा संगीत क्षेत्रमा आबद्ध छन् । पेशाले शिक्षक रहेका उनी लामो समय देखिनै नृत्य निर्देशन गर्दै आएका छन् । सुदूरपश्चिममा पहिलो पटक डान्स एकेडेमी सञ्चालनमा ल्याएका रावलले विभिन्न विद्यालयहरूमासमेत नृत्य सिकाउँदै आएका छन् ।

सात स्रस्टालाई “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०८१”

प्रज्ञा – प्रतिष्ठानले रावलसहित भाषा, साहित्य, लोकसंस्कृति, गायन, चलचित्र, नृत्य र ललितकलामा योगदान पु-याउने सात जना स्रष्टाहरूलाई पुरस्कृत तथा अभिनन्दन गरेको उपकुलपति डा. टीएन जोशीले बताए ।

प्रतिष्ठानले नृत्य विधामा डोटीका रामबहादुर रावल भाषामा बैतडीका वीरबहादुर चन्द, साहित्यमा दार्चुलाका सह–प्राध्यापक गणेशराज जोशी, लोकसंस्कृतिमा अछामका यज्ञराज उपाध्याय, लोकगायनमा बझाङकी डिक्रा बादी, चलचित्रमा कैलालीका संगत थारू तथा ललितकलामा कञ्चनपुरका अमर सुनारलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।

प्रतिभा पुरस्कार प्राप्त गर्ने सातै जनाले जनही ५० हजार रुपैयाँ नगद, दोसल्ला र अभिनन्दनपत्र प्राप्त गरेका छन् ।

नौं जनालाई “प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८१”

प्रतिष्ठानले सोही अवसरमा नगद २० हजार, दोसल्ला र सम्मान पत्र सहित विभिन्न विधामा योगदान पुर्‍याएका अन्य नौ स्रष्टालाई समेत ‘प्रादेशिक प्रतिभा सम्मान’ प्रदान गरेको छ।

नाट्य विधामा डडेल्धुराका उमेश मायालु र कैलालीका प्रेम भण्डारी, चलचित्रमा कैलालीका अम्बिका प्रसाद आचार्य, लोक दोहोरीमा अछामका पदमबहादुर धामी, लोक गायनमा बझाङका उमाशंकर जोशी, मातृभाषा चलचित्रमा डोटीका खडक मल्ल, चित्रकलामा कैलालीका मनिष चौधरी, नृत्यमा कैलालीका हेमराज भट्ट र गायनमा प्रकाश बहादुर शाह गरी नौं जनालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ ‘संस्कृति र इतिहास विशेष: सगुनु’ र इन्द्र चौधरीद्वारा लिखित ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ कृतिको लोकार्पण गरिएको थियो भने आदिकवि भानुभक्तको जीवन र कृतित्वमाथि प्रा. गणेशराज जोशीले विशेष चर्चा प्रस्तुत गरेका थिए ।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८२ असार ३०

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP