दिपायल – शिखर नगरपालिकाले एमविविएस अध्ययरत विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । शिखर नगरपालिका – १० बनलेकका एमविविएस अध्ययरत तिलक भुललाई एक लाख पचास हजार आर्थिक सहयोग गरेको हो ।
भुललाई शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायरले शुक्रबार चेक हस्तान्तरण गरेका हुन् ।
तिलक नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा एमविविएस प्रथम वर्षमा अध्ययनरत छन् । उनी पूर्ण छात्रवृत्तिमा अध्ययन गर्छन् ।
कक्षा १ देखि ५ सम्म गाउँकै विद्यालय बानेडुग्रा माविमा अध्ययनरत उनी कक्षा ६ देखि १० सम्म सीताराम मावि उच्चाकोटमा पेस्टोलोजी अन्तर्गत अध्ययन गरेका थिए । कक्षा ११/१२ एसपिए कलेज धनगढीबाट अध्ययन गरेका थिए ।
१२ कक्षाको परीक्षा दिनु भन्दा २५ दिन अघि मात्रै आमा गुमाएका उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको छ । उनका बुबाले भारतमा मजदुरी गरेर खर्च जुटाउने गरेका थिए । अध्ययनका लागि दिदी भिनाजुहरुको सहयोग रहेको उनले बताए।
नगर सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको नगर प्रमुख बलायरले बताए । “कमजोर आर्थिक अवस्था भएका, जेहन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएका छौं,”उनले भने,” तिलक एक मेहनती विद्यार्थी हुन्, दलित परिवारमा जन्मिएको उनको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर छ । उनलाई पढाइमा थप मद्दत पुगोस् भनेर डेढ लाख रुपैयाँ सहयोग गरेका छौं । आगामी वर्षहरुमा पनि सहयोग गर्ने छौं ।”
पारिवारिक आर्थिक अवस्था कमजोर भएका भुलको डाक्टर पढ्ने आकांक्षा पूरा गर्न नगर सरकारको तर्फबाट हौसला स्वरूप आर्थिक सहयोग गरेको नगर उप- प्रमुख सुनिता रावल जोराले बताइन् । नगर सरकारले यस अघि पनि एमविविएस अध्ययनरत कैलाश भुललाई पनि आर्थिक सहयोग गरेको उनले बताइन् ।
नगरपालिकाले अध्ययनका क्रममा आबस्यक परेको अवस्थामा सहयोग गर्ने आश्वासन दिएको तिलकले बताए । “नगर सरकारले गरेको सहयोग र आश्वासनले मेरो थप हौसला बढेको छ,” उनले भने,” नगर सरकार पनि मेरो अभिभावक हो भन्ने आभास भएको छ । म थप हौसलाको साथ आफ्नो अध्ययन पुरा गर्ने छू ।”
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...