२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डाक्टर उपाध्यायलाई नागरिक सम्मानसहित बिदाइ

दिपायल – सेती प्राविधिक शिक्षालय दिपायलका कृषि प्रशिक्षक (पशु विज्ञान) डा. खेमराज उपाध्यायलाई सम्मानसहित बिदाइ गरिएको छ । दिपायल सिलगढी नगरपालिका – ४ स्थित सूजङ्ग स्कुलमा एक कार्यक्रमको आयोजना गर्दै स्थानीय नागरिक समूहले सम्मानसहित बिदाइ गरेको हो ।

२०७५ मंसिर देखि हालसम्म सेती प्राविधिक शिक्षालय दिपायलमा कार्यरत पशु चिकित्सक (डाक्टर) उपाध्यायलाई सम्मान सहित बिदाइ गरिएको हो । डाक्टर उपाध्याय पिएचडिका लागि अमेरिका प्रस्थान गर्ने भए पछि उहाँको कामको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

डाक्टर उपाध्यायलाई दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालीकाकी उपप्रमुख सुनिता रावल जोरा लगायतका जनप्रतिनिधि, समाजसेवी र स्थानीय कृषकहरूले माला खादा तथा मायाको चिनो दिएर सम्मान गरेका थिए ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख खड्काले उपाध्यायले डोटीमा रहेर उत्कृष्ट काम गरेकोमा धन्यवाद व्यक्त गरे । आफ्नो शिक्षण जिम्मेवारीसँगै डोटीका किसान, पशु चौपायाको सेवामा तल्लिन रहेकोले नागरिकका तर्फबाट सम्मानित हुनु भएकोमा बधाई दिँदै नगर प्रमुख खड्काले डाक्टर उपाध्यायको जस्तै सेवाभाव र प्रेरणा अरु व्यक्तिमा पनि जाग्नु पर्ने बताए ।

शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले डाक्टर उपाध्यायले शिक्षालययसँगै जनसमुदायमा गरेको काम सराहनीय रहेको बताए । शिक्षालयमा विवाद रहित रहेर काम गरेका उपाध्यायको सेवा भाव र कर्मले जनस्तरबाट सम्मान मिलेको बताउँदै उनले उज्वल भविष्यको कामना गरिन् ।

डाक्टर उपाध्याय सेती प्राविधिक शिक्षालयमा कार्यरत रहँदा उनले आफ्नो सीमित जिम्मेवारी भन्दा माथि उठेर किसानको सेवामा तल्लिन रहेको भन्दै सम्मान गरिएको स्थानीय कपिल कठायतले बताए । डाक्टर उपाध्यायकोे मुख्य जिम्मेवारी भनेको शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन गराउने थियो, तर उनले त्यस बाहेक किसानहरूको घरघरमा गएर पशु उपचार गर्दै आएका थिए,”कठायतले भने,”उपाध्यायले ६ वर्ष देखि भुस्याह कुकुर नियन्त्रण, उपचार, पशु उपचार, कृषकलाई घरमै चिकित्सकीय सेवा दिएको र समाजमा उहाँको राम्रो कामको प्रभाव परेको छ ।”

पूर्व सहकर्मी समेत रहेका कठायतले डाक्टर उपाध्याय मिलनसार, इमान्दार, सहयोगी, विद्यार्थी र सहकर्मीका प्रिय व्यक्ति रहेको बताए ।

स्थानीय भरत कठायतले डाक्टर उपाध्यायले डोटीमा रहँदा आफ्नो सीप, क्षमता र सेवाभावकोे पूर्ण उपयोग गरेको बताए । शिक्षालयमा भित्र उहाँले आफ्नो कर्तव्य कत्तिको पालन गरे त्यो शिक्षालयले मूल्यांकन गर्ने विषय हो,” उनले भने,” डाक्टर उपाध्यायले जनस्तरमा जनताका लागि, पशु चौपायाको लागि दिनरात खटिएर जो सेवा गरे त्यो साँच्चै सम्मान योग्य थियो ।”

डाक्टर उपाध्याय शिक्षालयको जिम्मेवारीसँगै किसानको घरघरमा पुगेर सेवा दिँदै आएका थिए । उनले डोटीका सबै पालिका, विकट ठाउँहरूमा पुगेर पशु स्वास्थ्य सेवा दिँदै आएका थिए ।

जनस्थरबाट सम्मानले आफूलाई थप जिम्मेवार र कर्मठ बनाएको डाक्टर उपाध्यायले बताए । “शुद्ध मनले, इमान्दारिता पूर्वक आफ्नो कर्म गरेपछि कर्मले फल दिनेरहेछ भन्ने महसुस भएको छ,” डाक्टर उपाध्यायले भने,” मैले आफ्ना लागि के गर्न सके, के प्रगति गर्न सके त्यो मेराे व्यक्तिगत विकाससँग जोडिन्छ तर, मैले जनताका लागि कति गर्न सके, आफ्नो सीप क्षमता, दक्षताको कति प्रयोग गर्न सके, सेवाप्रदायक जनता र प्रशिक्षार्थी विद्यार्थीहरूका लागि कति गर्न सके भन्ने मुख्य कुरा हो । मैले यहाँ रहुन्जेल पूर्ण निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरेको रहेछु भन्ने महसुस आजको सम्मानबाट गरेको छु ।”

“शिक्षालयमा कार्यरत रहँदा किसानले बोलाए पछि पशु उपचारका लागि डोटीका सबै पालिका र विकट बस्तीहरूमा पनि पुगेको छु । डोटेलीहरुले कर्म गर्ने, धर्म निभाउने व्यक्तिहरूलाई चिन्दा रहेछन् र यसरी सम्मान गर्दा रहेछन् भन्ने महसुस भएको छ । ‘गयो डोटी खायो रोटी, फर्किने बेला सम्मान र ढाका टोपी’ हुने रहेछ । अबका दिनमा डोटीमा सेवा गर्न आउने व्यक्तिहरूले मेरो भन्दा राम्रो सेवा दिनेछन् भन्ने विश्वास लिएको छु,” डाक्टर उपाध्यायले भने ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ कार्तिक ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP