
दिपायल – एमविविएस पहिलो वर्षमा अध्यनरत विद्यार्थीलाई शिखर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । शिखर नगरपालिका – ७ बैरकोटका कैलाश भुललाई अध्ययनमा सहयोग होस् भन्ने उद्येश्यले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।
बिहीबार नगर प्रमुख दीर्घ बहादुर बलायरले कैलाशलाई चेक हस्तान्तरण गरेका हुन् ।
कैलाश बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान काठमाडौंमा एमविविएस डाक्टर पहिलो वर्षमा अध्ययनरत छन् । उनले खुला तर्फ नाम निकालेर पूर्ण छुटमा एमविविएस अध्ययन गर्दै छन् ।
कक्षा १ देखि ५ सम्म सीताराम मावि उच्चाकोटमा अध्ययन गरेका उनी कक्षा ४ मा सुजङ्ग स्कूल राजपुरमा भर्ना भएका थिए । उनले सुजङ्ग स्कूलबाट एसईई पास गरेका हुन् । एसईई पछि कक्षा ११ र ११ काठमाडौं स्थित नासा कलेजबाट पास गरेका हुन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कैलाशलाई पूर्व मन्त्री भक्त बहादुर बलायरले कक्षा ४ देखि १२ सम्म निःशुल्क अध्ययन गर्न सहयोग गरेका थिए ।
कमजोर आर्थिक अवस्था भएको दलित परिवारमा जन्मिएका कैलाश आफ्नो मेहनत र अरूबाट प्राप्त सहयोगले एमविविएस पढ्न पाउँदा निकै खुसी छन् । कैलाश दुई वर्षको उमेरदेखि आमा बुवा सहित मामा घर उच्चाकोटमा हुर्किएका हुन् ।
मेरो जस्तो कमजोर पारिवारिक अवस्था भएका व्यक्तिहरूले एमविविएस पढ्ने सपनसम्म देख्न सक्दैनन्,”कैलाशले भने,” आफूले मेहेनत गरे पछि, सपना देखेपछि सहयोग पनिसँगै जुट्दो रहेछ । आज म पूर्व मन्त्री बलायर र अन्य व्यक्तिहरूको सहयोगले मेरो डाक्टर बन्ने सपना पूरा गर्न तल्लिन छु ।”
“कलेजमा म निःशुल्क पढ्न पाउँछु तर, त्यहाँको होस्टेल खर्च, खाना, खाजा, लुगा कपडा, अध्ययन सामग्रीहरू आफै जुटाउनु पर्छ । मेरो पारिवारिक अवस्था निकै कमजोर छ । त्यसले धान्न सक्ने अवस्था छैन । नगर प्रमुख बलायर र नगरपालिकाले गरेको सहयोगले मलाई सहज हुने भएको छ । यसलाई मैले ठूलो सहयोग सम्झेको छु । नगर प्रमुख ज्यूले अर्को वर्ष पनि सहयोग गर्ने बताउनु भएको छ, उनले भने ।
नगर सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको नगर प्रमुख बलायरले बताए । “कमजोर आर्थिक अवस्था भएका, जेहन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएका छौं,”नगर प्रमुख बलायरले भने,” कैलाश एक मेहनती विद्यार्थी हुन्, दलित परिवारमा जन्मिएको उनको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर छ । उनलाई पढाइमा थप मद्दत पुगोस् भनेर डेढ लाख रुपैयाँ सहयोग गरेका छौं । आगामी वर्षहरुमा पनि सहयोग गर्ने छौं ।”
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...