नयाँ टीएमएसमा के के छन् सुविधा ?
हालसम्म मोबाइल एपबाट सहज रुपमा सेयर कारोबार गर्ने सुविधा थिएन । तर ब्रोकर कम्पनीको नयाँ टीएमएस भने मोबाइल एप भर्सनमा पनि उपलब्ध छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको मैनालीले बताए ।
‘अब मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले सेयर किनबेच गर्न सकिन्छ’ उनले भने । सुरु–सुरुमा चलाउने तरिकाबारे भिडियो बनाएर सार्वजनिक गरिनेछ ।
ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्दैन, जुन पहिलेदेखि रहँदै आएको छ । नयाँ हालको टीएमएस मार्फत ग्राहकले कारोबारका लागि धितो (कोल्याटरल) लोड त गर्न सक्छन्, तर कोल्याटरको विवरण सही रूपमा देखिँदैन । नयाँ टीएमएसमा भने लोड भएको कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल सही रूपमा देखिने छ ।
त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन/दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । हाल आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।
त्यस्तै सेयर बिक्री भइसकेपछि त्यहीं रकमबाट तुरुन्तै अरु कम्पनीको सेयर किन्न सक्नेछन् । हाल कोल्याटरल नभएको अवस्थामा बेचेको पैसाबाट सेयर खरिद गर्न मिल्दैन । तर ब्रोकर कम्पनीलाई नै फोन गरेपछि धेरैले बेचेको पैसालाई कोल्याटरका रुपमा मिलाइदिँदै आएका छन् ।
‘नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको एनलाइसिस गर्न सकिने छ, प्राविधिक विश्लेषणका विभिन्न टुल्स उपलब्ध हुनेछ’ मैनालीले भने । आफ्नो टीएमएस खोलिसकेपछि चार्ट हेर्नका लागि अरु वेब तथा एप चलाउनु पर्दैन ।
टीएमएसमा केही समस्या देखिए तुरुन्तै हल गर्न सकिने ब्रोकर कम्पनी बताउँछन् । कारोबारका थप औजार विकास भए ती औजार पनि टीएमएसमा समेट्दै चाहे अनुसार ब्रोकर कम्पनीले नै स्तरोन्नति गर्दै लैजान सक्ने छन् ।
नयाँ टीएमएसमा ब्याकअप कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिने छ । हालको टीएमएसमा दिनभरि भएको कारोबार त देखिन्छ, तर त्यो पहिलेको कारोबारसँग जोडिएको हुँदैन, एकमुष्ठ हिसाबकिताब हेर्न सकिँदैन ।
नासाको छुट्टै टीएमएस
नासा सेक्युरिटिजसहित केही ब्रोकर कम्पनीहरूले छुट्टाछुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका छन् । नासाले छुट्टै टीएमएस एस्टेरिस्क टेक्नोलोजी मार्फत खरिद गरेको छ । भारतको डिओन ग्लोबल सोलुसनले बनाएको टीएमएस नासाले प्रयोग गर्ने प्रबन्ध सञ्चालक मदन पौडेलले बताए ।
ग्राहकलाई थप सेवा सुविधा दिन नै आफूहरूले छुट्टै टीएमएस सञ्चालन गर्न लागेको उनले बताए । छुट्छाछुट्टै टीएमएस लिँदा ब्रोकरबीच पनि आधुनिक प्रविधिमा प्रतिस्पर्धा हुन जाने र यसले समग्र बजारको विकासलाई टेवा पुग्ने ब्रोकर कम्पनी बताउँछन् ।



