बाजुरा– बाजुराका कृषकलाई आर्थिक वर्ष २०८०–८१ मा करिब ५ करोड रकम अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्र बाजुराले कृषकहरूलाई विभिन्न ३४ कार्यक्रम शीर्षकमार्फत उक्त रकम अनुदान दिएको हो । कृषि ज्ञान केन्द्रले एक वर्षमा दिएको अनुदानबाट १२ हजार २ सय बढी कृषकहरू लाभान्वित भएको तथ्यांक रहेको छ ।
हरेक वर्ष बाजुरामा ४ करोडदेखि ६ करोडसम्म कृषि अनुदानमा खर्च हुने गरेको भए पनि क्रमिक रुपमा उपलब्धि भए पनि केही व्यक्तिहरूले सित्तैमा अनुदान लिने परिपाटीले उद्देश्य अनुसार उपलब्धि हुन नसकेको ज्ञान केन्द्र बाजुराले जनाएको छ । मुख्य प्राथमिकतामा राखेको फलफूल खेतीको पनि उपलब्धि देखिएको छैन । बाजुरामा अत्यधिक मात्रामा उत्पादन हुने स्याउ बाहेक अन्य फलफूल फस्टाएको देखिँदैन ।
बाजुरामा फलफूल तथा तरकारी व्यापारीहरू मध्ये एकै जना व्यापारीले वार्षिक २० देखि २५ लाखबराबरको फलफूल जिल्ला बाहिरबाट ल्याउने गरेको पाइएको छ । बाजुराको सदरमुकाम मार्तडीमा रहेका केही तरकारी तथा फलफूल व्यापारीहरूसँग गरिएको सर्वेक्षण अनुसार प्रत्येक व्यापारीहरूले वार्षिक २० देखि २५ लाखको फलफूल मात्रै जिल्ला बाहिरबाट आयात गर्ने गरेको बताएका छन् । बाजुरामा सिजनमा स्याउ बाहेक अन्य फलफूलहरू सबै बाहिरबाटै ल्याउने गरेको बताएका छन् ।
भदौ, असोजसम्म मात्रै स्याउ उपलब्ध हुने भएकोले अन्य समयमा बाहिरबाटै स्याउलगायतका फलफूल ल्याउनुपर्ने बाध्यता रहेको छ । बाजुराको सदरमुकाम मार्तडी, कोल्टी, पिलुचौर, बेतालमाडौं बाम्कालगायतका बजारमा साना ठूला गरी २ सयभन्दा बढी तरकारी तथा फलफूल व्यापारी रहेका छन् । सबैले सिजनमा स्याउ बाहेक अन्य फलफूलहरू तराई र भारतबाट आयात गर्ने गर्छन् । वर्षे सिजनको तरकारीमा भने बाजुरा आत्मनिर्भर रहेको छ ।
बजार सर्वेक्षण अनुसार हाल वर्षाको समयमा जिल्ला भित्रको तरकारी बिक्री वितरण हुने गरेको आयुस्मा किनारा तथा तरकारी पसलका सञ्चालक मिथिला सिंहले बताइन् । अहिले गाउँमा प्रशस्त तरकारी उत्पादन हुने भएकोले वर्षाको समयमा तरकारी जिल्ला बाहिरबाट आयात गर्न आवश्यक नरहेको उनले बताइन् । हिउँदको सिजनमा भने जिल्ला बाहिरबाट आयात हुने गरेको व्यापारी सिंह बताउँछिन् ।
जिल्लाका नौ वटै स्थानीय कृषकका सहकारी, कृषि समूह तथा फर्महरूलाई कृषि उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर बनाउने उद्देश्यसहित झन्डै ५ करोड रकम अनुदान दिएको भए पनि कृषकबाट सोचेको उपलब्धि नभएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख भूमिराज उपाध्यायले बताए ।
कृषकहरूलाई विभिन्न शीर्षकमार्फत जिल्लामा फलफूल खेतीलाई मुख्य प्राथमिकतामा राखेर अनुदान दिइएको उपाध्यायले बताए । त्यस्तै केन्द्रले दिएको अनुदानबाट जिल्लाका विभिन्न पालिकाहरूमा २ सय ५६ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको छ । २० कृषक समूहलाई दिएको अनुदानबाट ५ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...