२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा फेरी बाघकै त्रास

कञ्चनपुर– महिला मार्ने बाघ पक्रिएकै दिन शुक्रबार राति हिंस्रक जनावरले गोठका वस्तुभाउ खाएपछि कञ्चनपुरको दोधारा चाँदनीका स्थानीय थप त्रासमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गएराति दोधारा चाँदनी नगरपालिका(३ जमुनाघाडीमा बाघजस्तै जनावरले तीन बाख्रा मारेको पाइएको हो।

गत बिहीबार बिहान गाउँकी २६ वर्षीया हीरा शाहको ज्यान लिएर नजिककै उखुबारीमा लुकेको बाघ झन्डै २४ घण्टापछि शुक्रबार बिहान मात्र नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको घाइते बाघ बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर उद्धार केन्द्रमा राखिएको छ।

त्यसको त्रास सेलाउन नपाउँदै त्यही उखुबारीनजिकै शुक्रबार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन्।

राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ गरेको थियो। बाघजस्तो शंकास्पद जनावर देखिएको भनिएको ठाउँमा पाडो पनि बाँधिएको थियो। तर त्यो सकुशल पाइएको छ।

तर दोधारा चाँदनी–३ मा हिंस्रक जनावरले तीन बाख्रा खाएको पाइएको छ। ती बाख्रा चितुवाले मारेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

‘पदचाप र बाख्रा खाएको तस्बिर हेर्दा चितुवाजस्तो अनुमान गरेका छौँ। हामी प्रत्यक्षदर्शी र घटनास्थल हेरेर विस्तृत अध्ययन गरेर खोजीमा लाग्छौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘सामान्यतया दुई बाघ एकै ठाउँमा बस्दैनन्। बाघले सिकार गर्न परे आहारा पुग्ने गरी ठूलो जनावरको गर्छ। चितुवालाई सानै सिकारले पनि पुग्छ।’

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP