२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

हिराको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो

कञ्चनपुर– कञ्चनपुरमा धान गोड्न गएकी महिलाको ज्यान लिने बाघलाई निकुञ्ज प्रशासनले २४ घण्टापछि नियन्त्रणमा लिएको छ । दोधाराचाँदनी नगरपालिका– २ की हिराकुमारी शाह (साहु)माथि आक्रमण गरेको भाले बाघलाई एउटा डार्टसुई हानेर शुक्रबार बिहान साढे ९ बजे उखुबारीबाट नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मनोजकुमार ऐरले बताए ।

‘बिहीबार बाघ नियन्त्रणमा लिन सकिएन, दोस्रो दिन खोजी सुरु गरेको डेढ घण्टामै फेला प¥यो,’ ऐरले भने, ‘पहिलो डार्टमै बेहोस भयो, त्यसपछि नियन्त्रणमा लिन सफल भएका छौँ ।’

हिराकुमारीको मृत्यु भएकै दिन निकुञ्जका चार हात्तीसहित डार्ट प्राविधिक टोली, सुरक्षाकर्मी परिचालन भएका थिए । पहिलो दिन फेला नपरेपछि उखुबारीमा राँगो छाडिएको थियो । राँगोसमेत खाएको बाघलाई बिहान नियन्त्रणमा लिएको हो । हिराको शव पोस्टमार्टमका लागि दोधाराचाँदनी नगर अस्पतालमा राखिएको छ ।

बाघको आक्रमणबाट ज्यान गुमाएकी हिराकुमारी शाहको परिवारलाई दोधाराचाँदनी नगरपालिकाले किरिया खर्चबापत ५० हजार उपलब्ध गराएको छ । कार्यपालिका बैठकको निर्णयअनुसार मृतक शाहको परिवारलाई शुक्रबार ५० हजार किरिया खर्च उपलब्ध गराइएको मेयर किशोरकुमार लिम्बूले बताए ।

बर्दिया निकुञ्जको उद्धार केन्द्रमा लगियो बाघ

डार्ट गरेर कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज उद्धार केन्द्रको खोरमा लगिएको छ । उक्त बाघ १२ देखि १४ वर्ष उमेरको छ । उद्धार केन्द्रमा यसअघि नै पाँचवटा समस्याग्रस्त बाघ छन् ।

निकुञ्जका अनुसार एउटा बाघलाई एक दिन बिराएर सात केजी मासु दिइन्छ । एक हप्तामा प्रतिबाघ २८ केजीको दरले मासु दिने गरिएको छ । पाँचवटा बाघलाई हरेक साता एक सय ४० केजी मासु खुवाउने गरिएको छ । त्यहाँ बाघलाई उपचार र रेखदेखका लागि जनशक्ति खर्चसमेत थप लाग्छ । बाघ बुढो भएमा वा बिरामी भई सिकार गर्न नसक्ने अवस्थाका बाघलाई समस्याग्रस्त बाघ भन्ने गरिन्छ । ती बाघ निकुञ्ज वा वन क्षेत्रको मुख्य क्षेत्रभन्दा टाढा सामुदायिक वन, बस्तीनजिक भेटिने गर्दछन् । तिनले सजिलै सिकार गर्न सकिने घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गर्छन् ।

उनीहरूको उमेर र अवस्था हेरेर चिडियाखाना वा निकुञ्जले नियन्त्रणमा लिई उद्धार केन्द्रमा राख्ने गरिन्छ । गत वर्ष नै कञ्चनपुरमा मान्छेलाई मारेको बाघलाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । नेपालमा बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा सदर चिडियाखानामा झन्डै दुई दर्जन बाघ छन् । सन् २०२२ को सर्वेक्षणअनुसार नेपालमा तीन सय ५५ पाटेबाघ छन् ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP