२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा बाघ खोज्न दुई हात्ती परिचालन

कञ्चनपुर– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– २ कमलशाही टोलकी २६ वर्षीया हिराकुमारी शाह (साहु)को ज्यान लिने बाघ खोज्नका लागि हात्ती परिचालन गरिएको छ। बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका– २ चाँदनी कमलशाही टोलकी हिराकुमारीको मृत्यु भएको थियो। उनको ज्यान लिने बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती परिचालन गरिएको हो।

निकुञ्जका सूचना अधिकारी मनोजकुमार ऐरले बाघ खोज्नका लागि दुई हात्ती उखुबारीमा परिचालन गरिएको बताए। ऐरले मानिसमाथि आक्रमण गरेको बाघ उखुबारीमै रहेकाले हात्ती परिचालन गरिएको बताए। ‘हामीले बाघ नियन्त्रण गर्नका लागि डाग हानेर बेहोस बनाउन हात्तीसँगै चिकित्सकको टोली खटाएका छौँ,’ उनले भने, ‘बेहोस भएपछि बाघलाई नियन्त्रण लिन्छौँ।’

निकुञ्जमा वन्यजन्तु नियन्त्रण, उद्धारका लागि जनशक्ति र स्रोत भए पनि औषधि नहुँदा बर्दियाबाट मगाइएको बताए। ‘ठूला वन्यजन्तु बेहोस पार्नका लागि जताततै औषधि पाइँदैन,’ उनले भने, ‘हामीसँग पनि छैन, अहिले किटामनी र मेडिटोडिडिन औषधि बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका छौँ।’ गत वर्ष बेलौरी नगरपालिका– ८ पचुईकी गंगा चन्दलाई घाँस काट्न उखुबारीमा गएका वेला बाघले आक्रमण गरेपछि बाघ खोज्न हात्ती परिचालन गरिएको थियो।

आफ्नै धानबारीमा घाँस काट्ने वेला उखुबारीमा लुकेर बसेको बाघले हिराकुमारीलाई आक्रमण गरेको थियो। मृतक हिराकी जेठानी मीना साहुले हेर्दाहेर्दै बाघले हिरालाई घाँटीमा समातेर उखुबारीमा लगेर मारेको बताइन्। ‘दुई तीन दिनदेखि गाउँमा बाघ आएको हल्ला थियो, कोहीले त देखेका रहेछन्, हामीले हल्ला मात्रै सुन्यौँ,’ उनले भनिन्।

उक्त बाघ भारतीय पिलिभित टाइगर रिजर्भ जंगलबाट नेपाल आएको अनुमान गरिएको छ। बाघले ज्यान लिएको महिलाको परिवारलाई दोधाराचाँदनी नगरपालिकाले किरिया खर्चबापत ५० हजार सहयोग गर्ने निर्णय गरेको छ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP