२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

झुलाघाट नाकाबाट निर्यात शून्य, आयातबाट राजस्व भने बढ्यो

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको मुख्य नाका महाकाली भन्सार कार्यालय झुलाघाटमा गत वर्षको निर्यात शून्यमा झरेको छ । नाकाबाट गत वर्ष कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख अनिल झाका अनुसार केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेको थियो । निर्यात शून्यमा झरे पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयातबाट भने लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले बताए ।

कार्यालयले गत आवमा ५१ लाखको लक्ष्य राखेकामा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख झाले बताए । उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्त शुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा ३८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ३५ लाख ३८ हजार मात्रै सङ्कलन भएको थियो ।

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए । यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौंबाट ल्याउने गरेका छन् ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण ७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP