दिपायल – सुत्केरी भएको ९ घण्टा पछि सालनाल निकाले पछि सुत्केरी महिलाको ज्यान जोगिएको छ । सुजङ्ग अस्पताल राजपुरकोे टिमले आधा घण्टा लगाएर सालनाल निकाले पछि सुत्केरी महिलाको ज्यान जोगिएको हो ।
सायल गाउँपालिका – ४ की ३४ वर्षीया उजेली भुलको ज्यान जोगिएको हो । उनी घरमै सुत्केरी भएकी थिइन् ।
घरमा सुत्केरी भएको लामो समयसम्म सालनाल नझरे पछि उनलाई अस्पताल ल्याइएको थियो । ९ घण्टा पछि अस्पताल पुगेकी भुलको स्वास्थ्य अवस्था निकै विग्रिसके पछि अस्पताल पुगेकी थिइन्।
स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार हुन नसके पछि सुत्केरी महिलालाई शुक्रबार मध्यराति १२ बजे अस्पताल पु-याइएको थियो । सालनाल अड्किएर पाठेघर बाहिर खसेको अवस्थामा सुत्केरी महिला अस्पताल पुगेकी थिइन्, उच्च रक्तश्राव थियो,” अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले भने,” यो अवस्थामा निकै जटिल र जोखिम हुन्छ । यस्तो बेला सुत्केरी महिलाको ज्यान पूर्ण जोखिममा हुन्छ । हामीले आधा घण्टाको प्रयास पछि सालनाल झिकेर पाठेघरको भाग भित्र राखेका छौं। अहिले बिरामीको स्वास्थ्य खतरामुक्त छ ।”
बच्चा जन्मिएको लामो समयसम्म सालनाल नझरे पछि सुत्केरीको ज्यान जोखिममा हुने बलायरले बताए । उनले यस्तो घटना घट्न नदिन सुत्केरी महिलाको समय-समयमा स्वास्थ्य चेकजाँच गराउन र स्वास्थ्य संस्थामा मात्रै सुत्केरी गराउन सुझाव दिए । यदि त्यस्तो अवस्था आइहाल्यो भने जतिसक्दो चाँडो अस्पताल पु-याउनु पर्ने उनले बताए।
९ घण्टासम्म सालनाल नखस्नु, पाठेघर बाहिर झर्नु निकै जोखिमपूर्ण अवस्था हो । धन्न महिलाको ज्यान जोगाउन सफल भएका छौं । सुत्केरी अवस्थामा विशेष ख्याल गरौं, बलायरले भने ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...