२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

तीन दिन अगावै नेपालमा भित्रियो मनसुन

काठमाडौं– यसवर्षको मनसुन नेपाल भित्रिएको छ। सरदर मितिभन्दा तीन दिन अगाडि नै आजबाट मनसुन नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन क्रमिक रूपमा देशका अन्य भेगमा फैलिँदै जाने महाशाखाले जनाएको छ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ। तर यो तालिका सधैँ यही भने नहुने महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोसी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए।

काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा गर्मी बढेको छ। पूर्वी नेपालमा मनसुन भित्रिए पनि पश्चिमतिर तातो हावाको लहर चलिरहेको र अझै केही दिनसम्म पश्चिम तराइमा तातो हावाको लहर चलिरहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन यसअघि नै आग्रह गरिसकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०८१ जेष्ठ २८

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP