२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सुदूर र कर्णालीका जनातालाई निःशुल्क स्वास्थ्य सेवा दिन्छौं : कांग्रेस सांसद शर्मा


दिपायल- प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने बताए । बिहिबार दिपायलमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले काठमाडौं मेडिकल कलेजमा उपचारका लागि आउने सुदूर र कर्णालीका बिरामीहरुको निःशुल्क उपचार गर्ने बताएका हुन् ।

काठमाडौं मेडिकल कलेजको सहयोग तथा दिपायल सिलगढी नगरपालिकाको आयोजनामा दिपायलमा विशेषज्ञ डाक्टरसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्माले काठमाडौं मेडिकल कलेजले देशकै सर्वोउत्कृष्ठ स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउँदै सुदूर र कर्णालीका सबै खाले बिरामीहरुको उपचार निःशुल्क गर्ने प्रतिवद्धता व्यक्त गरे ।

“सुदूरपश्चिम र कर्णली प्रदेशका विरामीहरुले खाने र औषधिको व्यवस्था मात्रै आफुले गर्नसक्यो भने हामीले अन्य सुविधा निःशुल्क दिने छौं,“शर्माले भने,“काठमाण्डौं मिडिकल कलेजमा उपचारका लागि आउनु भयो भने हामीले गेठभित्र पसे देखि निको गरेर गेट बाहिर पठाउन्जेल निःशुल्क उपचार गछौं । त्यहाँ बिरामीले खाने र औषधिको व्यवस्था मात्रै आफै गर्नु पर्ने हुन्छ ।”

नगर प्रमुख विजय खड्काले जनताको सेवा नै आफ्नो धर्म र कर्म भएको बताए । उनले सहज स्वास्थ्य सेवा प्रवाह गर्नु र जनतालाई आयस्रोतसँग जोड्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । नगरपालिकाले नगरको भौगोेलीक अवस्थालाई हेरेर नगर अस्पतालको निर्माण गरि सहज र निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने तयारीमा रहेको नगर प्रमुख खड्काले बताए । उनले शिविर सञ्चालनमा सहयोग गर्नु भएकोमा सासंसद शर्मा, चिकित्सकको टिम र काठमाडौं मेडिकल कलेजको टिमलाई धन्यवाद ज्ञापन गरे ।

शिविरमा दिपायल सिलगढी नगरपालिका र छिमेकी पालिकाका एक हजार ३ सय ५० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका थिए । थप उपचार र शल्यक्रिया गर्नु पर्ने बिरामीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने छ ।

शिविरमा जनरल मेडिसियन, स्त्री रोग, बाल रोग, मनोरोज, हाड जोर्नी तथा नसा सम्बन्धी उपचार, छाला तथा यौन रोग, नाक, कान घाटी, आँखा, दन्त रोग, मुटु रोग र भिडियो एक्सरे, ल्याब टेष्ट, इसिजि लगायतका सेवा दिइएको थियो । जटिल समस्याको उपचार तथा शल्यक्रिया देखिएकाको विरामीको मेडिकल कलेजमा निःशुल्क उपचार गरिने सांसद शर्माले बताए ।

सांसद शर्मा सुदूरपश्चिमका डोटी, बाजुरा र कर्णालीका हुम्ला, मुगु र कालिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरि काठमाडौं मेडिकल कलेजको विशेषज्ञ टिमसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमणमा छन् ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख १३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP