२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

मोतिबिन्दुका बिरामी खोज्दै शिखर सरकार

दिपायल – शिखर नगरपालिकाले मोतिबिन्दु भएका बिरामीको खोजी गर्न थालेको छ । ग्रामीण क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेर मोतिबिन्दुको समस्या भएका बिरामीहरूको खोजी गर्न थालेको हो ।

शिखर नगरपालिकाले नेत्र ज्योति संग र गेट आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो नगरपालिकाको वडा नम्बर ३ मा संचालित शिविरमा एक सय २४ जनाको आँखा जाँच गर्दा २१ जनामा मोतिबिन्दुको समस्या देखिएको गेटा आँखा अस्पताल शिखर शाखाका प्रमुख सुरत बडैलाले बताए । त्यस्तै वडा नम्बर ७ लाटामाण्डौँमा संचालित शिविरमा एक सय ४९ जनाको आँखा जाँच गरिएको थियो  । जसमध्ये २६ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो।

पछिल्लो समय मोतिबिन्दुका बिरामीहरु बढ्दै गएकोले शिविर सञ्चालन गरिएको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । “नगरका ग्रामीण क्षेत्रमा मोतिबिन्दुको समस्या विकराल बन्दै गएको छ,” उनले भने,” मोतिबिन्दुका बिरामीहरूको पहिचान गरेर उहाँहरुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरेका छौं ।”

शल्यक्रिया गर्नु पर्ने बिरामी छनोट गरेर गेटा आँखा अस्पतालको डडेल्धुरा शाखामा उपचारका लागि पठाइने नगरपालिकाले जनाएको छ। नगरले निःशुल्क शल्यक्रियासँगै बिरामीका लागि  यातायातको व्यवस्था समेत गर्ने छ।

नगरपालिकाले नगर अन्तर्गतका विद्यालयहरुमा पनि आँखा जाँच शिविर सञ्चालन गर्दै आएको छ । शिविरका क्रममा राधाकृष्ण मावि गोपघाटका ४० जना विद्यार्थी र सिद्धेश्वर मावि बानेडुग्रीसैनका १४ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ ।

हाल सञ्चालन गरिएको शिविरमा फेला परेका मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरे लगत्तै नगरका अन्य वडाहरूमा पनि शिविर सञ्चालन गरिने नगर उप-प्रमुख सुनिता रावल जोराले बताइन् । नगरपालिकाले यस बाहेक शिविर मार्फत पाठेघर खसेका महिलाहरुको पहिचान गरी निःशुल्क शल्यक्रिया एवं उपचार गर्ने गरेको बताइन् ।

शिखर नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्न जेष्ठ नागरिक, सुत्केरी महिला, पाठेघर खसेका महिला, विद्यार्थी, आँखाका विराम हरुका लागि वर्षेनी विषेशज्ञ सहितको शिविर सञ्चालन गर्दै आएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० फाल्गुन १३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP