२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

कार्यालय प्रयोजनका लागि निजी गाडीको प्रयोग गर्दै उप-प्रमुख रावल


दिपायल – शिखर नगरपालीकाकी नगर उप-प्रमुख सुनिता रावल जोराले कार्यालयको कामकाजका लागि निजी गाडीको प्रयोग गर्दै आएकी छिन् । निर्वाचित भएपछि आफ्नै निजी स्कुटरमा कार्यालयको कामकाजका लागि खटिने उनले कार्तिक महिनाबाट आफ्नै बोलेरो जीप प्रयोग गर्दै आएकी हुन् ।

गाडी प्रयोग गर्नु अघि निजी स्कुटर र कार्यालयले भाडामा उपलब्ध गराएको गाडीको प्रयोग गर्दै आएकी उनले निःशुल्क रूपमा आफ्नो जीप प्रयोग गर्दै आएको बताइन् । “नगरपालिकासँग एउटा मात्रै गाडी छ ,जुन गाडी नगर प्रमुखले प्रयोग गर्दै आउनु भएको छ,”उनले भनिन्,” त्यो गाडी पनि धेरै जसो बिग्री रहन्छ । कच्ची सडकमा जान मिल्दैन । योजनाको अनुगमनका लागि गाउँगाउँ पुग्नु पर्ने हुन्छ । जनताको घरदैलोमा पुग्नु पर्ने हुन्छ । कार्यालय आवतजावत गर्नु पर्ने हुन्छ । तसर्थ, मलाई गाडी अति आवश्यक पनि छ । पूर्व कार्यालय प्रमुखले कार्यालय प्रयोजनका लागि भाडामा गाडी लिनु भएको थियो, केही समय त्यो गाडी प्रयोग गरे । सम्झौता सकिए पछि कार्तिकबाट आफ्नै निजी गाडी प्रयोग गर्दै आएकी छु ।”

नगर प्रमुख, उपप्रमुख र कार्यालय प्रमुखले कार्यालय प्रयोजनका लागि सरकारी गाडी अथवा आवश्यकता अनुसार भाडामा लिएर प्रयोग गर्न पाउने अधिकार पनि छ । “कार्यालयले प्रक्रियामा गएर उपलब्ध गराएको गाडी प्रयोग गर्न म तयार छु,” नगर उप-प्रमुख रावलले भनिन्,” नगरपालिकालाई गाडी खरिद गर्न सरकारले रोक लागिएकोछ । हाललाई नगरपालिकाले गाडी उपलब्ध नगराउँदा सम्म आफ्नै गाडी प्रयोग गरेको हुँ । आफ्नो गाडी भाडामा लगाएको होइन । नगरपालिकाबाट गाडी भाडा बाफतकाे एक रुपैयाँ पनि भुक्तानी लिएको छैन ।”

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले उपप्रमुखले प्रयोग गर्दै आउनु भएको गाडीको भाडामा लिने सम्झौता नभएको र सो प्रयोग गरेबाफत कार्यालयले नगर उपप्रमुखको नाममा भुक्तानी नदिएको बताए । उपप्रमुखले कार्यालयको कामकाजको निमित्त आवश्यकता परेको खण्डमा मात्र कार्यालयले आफै सवारीसाधन भाडामा लिई प्रयोग गर्न दिन्छ,” उनले भने,”नगर उपप्रमुखले मात्र नभएर कार्यालय प्रमुखले पनि कार्यालयको कामकाजका लागि सवारीसाधन भाडामा लिई वा आफ्नै कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । उप-प्रमुखले विगतमा लामो समयसम्म आफ्नै व्यक्तिगत स्कुटर प्रयोग गरी कार्यालयमा आवतजावत गरिरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि स्कुटरमा आवतजावत गर्न कठिनाई उत्पन्न हुने भएकाले आफ्नै निजी गाडीमा कार्यालय आवतजावत गर्ने गर्नुभएको छ । तर, उहाँले हाल प्रयोग गर्दै आउनुभएको निजी जीपको नगरपालिका कार्यालयसँग सम्झौता पनि भएको छैन र सो प्रयोग गरेबाफत कार्यालयले उप-प्रमुखको नाममा भुक्तानी दिएको छैन ।”

“पालिकालाई गाडी आवश्यक परेमा खरिद वा भाडामा लिन पाउने स्पष्ट व्यवस्था छ,” शिखर समाचारसँगको कुराकानीमा प्रशासकीय अधिकृत शाहले भने,”लामो समयका लागि हो भने त्यसको केही मापदण्ड र प्रक्रिया छ । हामीले प्रक्रिया पूरा गरेर आवश्यकता अनुसार प्रयोग गर्न सक्छौं । हालसम्म कार्यालय प्रयोजनका लागि आफ्नो निजी गाडी प्रयोग गरेर नगर उपप्रमुखले नगर सरकारको आर्थिक भार कम गर्नु भएको छ । सवारी चालक समेत उहाँले निजी राख्नु भएको छ । जस्ले गर्दा नगर पालिकालाई सहयोग भएको छ । यो उहाँको महानता हो ।”

सवारीसाधन लगायतका केही सुविधाहरु नगर सरकारले प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । “आवश्यक प्रक्रिया पु-याएर, विधिविधानले तोकेको र दिए अनुसार आवश्यकता अनुसार सेवासुविधा लिँदा पनि विरोधका आवाज सुनिनु राम्रो होइन,”उनले भने,”हामीले नगर सरकारको स्रोतसाधन नगरपालिकाकै लागि प्रयोग गर्ने हो ।” उप-प्रमुखले कार्यालय प्रयोजनका लागि आफ्नै स्रोतसाधन प्रयोग गर्नु त झनै राम्रो कुरा हो । उहाँले आफ्नो लगानी नगरपालिकाका लागि खर्च गर्नु भएको छ। उहाँलाई हौसला र धन्यवाद दिनुको सट्टा विरोध गर्नु राम्रो होइन, उनले भने ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०८० माघ ६

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP