२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आउनुभएको हो । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, खुर्सानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै रु दुई लाख बढीको बिक्री भएको छ”, उनले भने, “वर्षमा रु १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।” उत्पादित तरकारी महेन्द्रनगर बजार पु¥याएर बेच्दै आएको उनले बताए ।

खड्का वडाका एक्ला व्यावसायिक तरकारी खेती गर्ने किसानका रूपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरूका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए । त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।

“कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन”, खड्काले भने, “गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरूभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।”

किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । “तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ”,उनले भने ।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए । तरकारी खेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरू किसानले झैँ धान, गहुँ खेती लगाउने गर्नुहुन्थ्यो । परिवारका लागि वर्षभरि खान पनि मुस्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि रु १५ लाखसम्म ऋण लागेको उनले सुनाए ।

“सुरुआतमा एक कट्ठा जग्गामा तरकारी खेती ग¥यौँ । रु २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ”, खड्काले भन्नुभयो, “आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।” केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो । रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० भाद्र २५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP