२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

दुर्गम बस्तीका स्वास्थ्यकर्मी समस्यामा

बाजुरा – बाजुराका अधिकांश स्वास्थ्य चौकी गाउँबस्तीभन्दा धेरै टाढा छन् । ती गाउँबस्तीमा पुग्न झन्डै एक दिन लाग्छ ।

हातमा औषधी, काखमा लुगा र पिठिउँमा सन्तान बोकेरै गाउँबस्ती धाउनु पर्ने स्वास्थ्यकर्मीको बाध्यता रहेको छ । केही वर्षअघि स्थानीय सरकारले ती गाउँबस्तीमा सडकको पहुँच पु–याएको थियो तर सडकको मर्मत सम्भार नहुँदा स्वास्थ्यकर्मी खोप लगाउन हिँडेरै जाने गरेका छन् । बाढीपहिरोले ती गाउँमा जोडिएका सडक सबै तहस नहस भएपछि स्वास्थ्यकर्मीलाई वल्लो गाउँबाट पल्लो गाउँमा जान ज्यानै जोखिम राख्नु परेको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका वाईकी स्वास्थ्यकर्मी नमिता बुढा यस्तै समस्या भोगेर सर्वसाधारणको उपचारमा खटिने एक उदाहरण हुनुहुन्छ । उनी २०७५ सालदेखि स्वामिकार्तिक खापर गाउँपालिका–१ मा रहेको वाई स्वास्थ्य चौकीमा अनमिका रूपमा काम गर्दै आएकी छिन् ।
स्वामिकार्तिक गाउँपालिका केन्द्र तथा वाई स्वास्थ्य चौकीबाट यहाँका अधिकांश वडा तथा बस्ती धेरै टाढा छन् । बाढीपहिरोका कारण सडक बिग्रिएपछि नमिताजस्तै अन्य स्वास्थ्यकर्मीलाई ती बस्तीमा खोप लगाउन तथा स्थानीयलाई स्वास्थ्य सेवा दिन पैदल जान निकै सकस हुने गरेको छ ।

उनले भनिन्, “बर्खाको समयमा स्वास्थ्य संस्थाबाट गाउँ बस्तीमा खोप लगाउन गएको बेला बाढीपहिरोले बाटो अवरुद्ध हुने गरेकाले घरमा नपुगेर पहिरोमा नै च्यापिने हो की भन्ने मनमा डर लाग्ने गरेको बताइन्” उसो त बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली जगनाथ, स्वामिकार्तिक, बुढीनन्दालगायतका स्थानीय निकायले २०७५ सालदेखि नै स्थानीय
निकायका प्रत्येक वडामा सडक जोड्ने प्रयास गर्दै आएका छन् । कतिपय स्थानीय तहले त गाउँ गाउँमा कृषि सडक समेत पहुँच गरेका छन् ।

यसरी गाउँमा पुगेका ती सडक गत वर्षको अविरल वर्षाका कारण अवरुद्ध भएपछि स्वास्थ्यकर्मी तथा स्थानीयलाई पनि एक गाउँबाट अर्को गाउँ जान समस्या हुने गरेको छ । खप्तड छेडेदह गाउँपालिका–१ काँडाका स्थानीय विक्रम रोकायाले गाउँमा पुगेका सडक बर्खाको समय थोरै पानी परे पनि भत्किने गरेकाले आउ जाउ गर्न समस्या भएको बताए । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले स्थानीय निकायको बजेटले ती सडक मर्मत हुने अवस्था नभएकाले प्रदेश तथा सङ्घीय सरकारको बजेट आवश्यक रहेको बताए ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८० असार १९

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP