२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

खानेपानी योजनाबाट ढाँटिएको ढाँटगाउँ

डडेलधुरा – अमरगढी नगरपालिका–९, ढाँटगाउँको खानेपानी योजना करिब १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। खानेपानी योजना पूरा नहुँदा स्थानीय गाउँमुनि रहेको दुई वटा पँधेराबाट पानीको जोहो गर्न बाध्य छन्।

खानेपानी योजना समयमा नै पूरा नहुँदा यहाँका एक सयभन्दा बढी परिवार ढाँटगाउँ खानेपानी योजनाबाट ढाँटिएका छन्। पानीको जोहो गर्न बिहान बेलुकी पँधेरामा लाइन बस्न बाध्य स्थानीयवासी गाउँको नाम जस्तै योजनाबाट पनि ढाँटिएको बताउँछन्।

पानीको जोहो गर्न प्लास्टिकको ग्यालिन र ट्याङ्की खरिद गर्नु परेको स्थानीय इन्द्रादेवी पालले बताए । खानेपानी योजना निर्माणको काम सुरु भएको १५ वर्ष बित्यो उनले भने, “योजना पूरा हुन सकेको छैन। पुर्खाले बनाएको पँधेराबाट पानीको जोहो गर्नुपर्ने बाध्यता छ।” खानेपानीदेखि लुगाकपडा धुन, सरसफाइ, शौचालय, गाईबस्तुलाई पानी खुवाउन दिनभर पँधेरो धाउनुपर्ने बाध्यता रहेको गुनासो उनले गरे।

तत्कालीन कोटेली गाविस–१, असुर्पा खोलाबाट ढाँटगाउँमा खानेपानी ल्याउन २०६५ सालमा निर्माण कार्यको थालनी गरिएको थियो। हालको नवदुर्गा गाउँपालिका–१, असुर्पा खोलाबाट त्यस बखत पानी ल्याउन इन्टेक निर्माण गरिएको थियो। त्यसपछिका वर्ष बजेट नपर्दा योजना अलपत्र परेको भनाइ स्थानीयको छ। आर्थिक वर्ष २०७३/७४ मा व्रmमागत योजना अन्तर्गत १० लाख रुपियाँ खानेपानी डिभिजन कार्यालयबाट विनियोजित भएर पाइपलाइन बिछ्याउने काम भएको ढाँटगाउँ खानेपानी उपभोक्ता समितिका सचिव रमेशबहादुर ढाँटले बताए ।

करिब १० किलोमिटर टाढाबाट पानी गाउँसम्म पु–याउनका लागि आवश्यक बजेट विनियोजत हुन नसक्दा योजना पूरा गर्न चुनौती भएको उहाँको भनाइ छ। पाँच÷दस लाख रुपियाँ विनियोजित हुँदा एक वर्ष गरेको काम अर्काे वर्ष मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

एक करोड ९७ लाख रुपियाँ लागत अनुमान गरी आर्थिक वर्ष २०७३/७४ सङ्घीय सरकारमार्फत खानेपानी डिभिजन कार्यालयलाई हस्तान्तरण भएको कार्यालयका प्राविधिक इन्जिनियर धीरज ऐरले जानकारी दिए । उनका अनुसार ५४५ घरघुरी लाभान्वित हुने गरी लागत अनुमान गरिएको थियो। योजना अन्तर्गत हालसम्म ७२ लाख रुपियाँ खर्च भइसकेको छ।

अब शाखा लाइन विस्तार गर्न मात्रै बाँकी रहेको उनले भने । ढाँटगाउँमा चालु आवमा १२/१२ घनमिटरका दुई ट्याङ्की निर्माण गरिएका छन। १० लाख रुपियाँ विनियोजन भएर आएको बजेटबाट ट्याङ्की निर्माण गरिएको उनले बताए । स्थानीयले काम नगरेपछि ठेकेदारलाई निर्माणको जिम्मा दिएको उपभोक्ता समिति अध्यक्ष खडक पालले बताए ।

ठेकेदारले काम गरेको ज्याला अहिलेसम्म पनि नदिएको स्थानीय गगन सार्कीले बताउनुभयो। चार/पाँच वर्षपहिले काम गरेको ज्याला नपाएको उहाँको गुनासो छ। उनी लगायत ४०/५० जना स्थानीय कामदारले ज्याला नपाएपछि काम अलपत्र परेको हो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० असार १

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP