
धनगढी – आफैँ बिरामी जस्तो अवस्थामा रहेको सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका रूपमा विकास गरेपछि यस अस्पतालको मुहार फेरिएको छ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका जनताको स्वास्थ्य उपचारसँग जोडिएको सेती प्रादेशिक अस्पतालले हरेक वर्ष सेवा सुविधा बढाएसँगै उपचारमा आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ। विसं १९९७ मा स्थापना भई १५ शय्याबाट उपचार सेवा सुरु गरेको सो अस्पताल २०४० सालमा अञ्चल अस्पतालका रूपमा ४० शय्यामा विस्तार भएको थियो। २०६१ सालमा ५० शय्या र अस्पताल विकास समितिबाट ७५ शय्या गरी १५० शय्या पु–याएर सेवा विस्तार भएको देखिन्छ।
अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले २०७६ साल भदौ ५ गते सेती प्रादेशिक अस्पताल भएसँगै हाल ३५० शय्याबाट सेवा दिइरहेको बताए ।अस्पतालले उपचार सेवा विस्तारका साथै विज्ञ चिकित्सक भित्र्याएपछि बिरामीको चाप पनि बढेको छ। सूचना अधिकारी उपाध्यायका अनुसार अहिलेसम्म प्रदेश सरकारको सहयोगमा अस्पतालमा कार्डियोलोजी, न्युरोलोजी, युरोलोजी, डाइग्नोसिस, कोलोनेस्कोपी, कोभिड टेस्टका लागि पिसिआर ल्याब, माइक्रोबायोलोजीलगायतका सेवा प्रदान गरिएको छ।
गत पुसमा प्रदेश सरकारकै सहयोगमा सिटी स्क्यान सेवासमेत विस्तार गरिएको छ। सात करोड रुपियाँभन्दा बढीको लागतमा अस्पतालले सिटी स्क्यान मेसिन खरिद गरेको हो। सूचना अधिकारी उपाध्यायले एमआरआई सेवा पनि केही समयपछि दिने गरी मेसिन खरिद प्रक्रिया अगाडि बढेको छ ।
सरकारी अस्पतालमा सुविधा नहुँदा यहाँका बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा सिटी स्क्यान, एमआरआईलगायतका परीक्षण गराउनुपर्ने बाध्यता थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले उपचार नपाएर भारत तथा नेपालगन्ज, काठमाडौँ धाउनुपर्ने बाध्यतालाई सेती प्रादेशिक अस्पतालले अन्त्य गर्दै गइरहेको बताए ।
अस्पतालको प्रसूति रहेको क्षेत्रमा दुई अर्ब रुपियाँको लगानीमा नयाँ भवन निर्माणका लागि नौतले भवनको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। बेसमेन्टसहितको सुविधासम्पन्न भवन निर्माणको प्रक्रियामा प्रदेश सरकार रहेको छ।
अहिले अस्पतालमा दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय जनाले उपचार सेवा लिँदै आएका छन्। वर्षमा तीनदेखि चार लाख जनाले उपचार सेवा लिएका जनाइएको छ। अध्यक्ष शाहले भन्नुभयो, “सेवा विस्तार भएसँगै अस्पताल बिरामीका लागि आकर्षणको केन्द्र भएको छ।” हाल अस्पतालमा नेपाल सरकारको १०७ जनाको दरबन्दी र अस्पताल विकास समितिको ८६ जनाको स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ। ४७ जना मेडिकल अफिसरले विभिन्न विशेषज्ञ सेवा दिइरहेका छन्।
अस्पतालको अर्को ठुलो र महत्त्वपूर्ण काम अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नु पनि हो। प्रदेशको सामाजिक विकास मन्त्रालयको करिब दुई करोड रुपियाँको लागतमा खरिद गरिएको अक्सिजन प्लान्ट जडान गरी उत्पादन गर्न सुरु गरिएको छ। अस्पतालले नवजात शिशुका लागि एनआइसियु वार्ड र डायलासिस सेवा पनि दिइरहेको छ। विगतमा निजी संस्थाबाट सेवा पाइरहेका यहाँका बिरामीले हाल सेती प्रादेशिक अस्पतालबाट निःशुल्क डायलासिस सेवा पाइरहेका सो वार्डका इन्चार्ज सुनिता रानाले बताइन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालमा हरेक वर्ष २५ देखि ३० करोड रुयियाँको हाराहारीमा बजेट छुट्याउने गरेको जानकारी दिनुभयो।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...