
दिपायल- डोटीको शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सोमबार नगरपालिकालाई एक कार्यक्रमका बीच निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् । शिखर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण हुने पहिलो पालिका बनेको छ ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । पालीकाका सम्पूर्ण बालबालिकाहरुले पूर्ण खोप लगाएको तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिकाका सबै व्यक्तिहरुले कोभिड विरुद्वको खोप समेत पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ ।

शिखर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । स्वास्थ्य अति नै संवेदनशील विषय भएका कारण स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा बढी जोड दिनु पर्ने उनले बताए ।
शिखर नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै अग्रेणी स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । खोप लगायत स्वास्थ्यका अन्य इन्डिकेटरका आधारमा पनि शिखर अग्र स्थानमा रहेको उनको भनाइ थियो ।
शिखर सरकारले स्वास्थ्य र शिक्षालाई विषेश प्राथमिकतामा राखेर काम गरिरहेको शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायरले बताए । स्वास्थ्यमा हामीले सबै भन्दा बढी बजेटको व्यवस्था गर्ने गरेका छौं,“उनले भने, जनतालाई दिनुपर्ने पहिलो सेवाका रुपमा स्वास्थ्यलाई दिएका छौं । नगर सरकारको स्वास्थ्य प्रतिको गम्भिरता, लगानी, लक्ष र सेवालाई परिपूर्ती गर्न स्वास्थ्यकर्मीहरुको पनि साथ मिलेको छ । हामी स्वास्थ्यका क्षेत्रमा अझै राम्रो काम गर्न चाहन्छौं । जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयवस्तुहरुमा हामी सधै अग्रेणी स्थानमा रहने छौं, जसरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका बनेका छौं ।”
नगरपालिकाले नजतालाई निरोगी राख्ने, स्वस्थ राख्ने लक्षसहित स्वास्थ्यसँग जोडिएका विभिद कार्यक्रमहरु सञ्चालन गर्दै आएको नगर उपप्रमुख सुनिता रावलले बताइन् । स्वास्थ्य शिविर, नगरमै सहज स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा जनताको सहज पहुँच, स्वास्थ्य संस्था र गुणस्तरीय सेवा विस्तार लगायतका काममा नगरपालिका अग्रसर रहेको उनले बताइन् ।

कार्यक्रमकै बीच स्वास्थ्य सेवामा लामो समयदेखि योगदान पु–याउने शिखर नगरपालिका–१० का डा. हरिलाल रावतलाई सम्मान गरिएको थियो । सामान्य परिवारमा जन्मिएर डक्टर बन्न सफल भएका रावतले डोटी, सुदूरपश्चिम तथा नेपालकै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु–याएको भन्दै प्रमाणपत्र दोसल्लासहित सम्मान गरिएको हो । सेवा निवृत रावत हाल निःशुल्क स्वास्थ्य परामर्स दिदै आएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...