२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए

धनगढी – कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो ।

समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ वटै वडामा सिकलसेलका बिरामी फेला परेका छन् । करिब ९६ प्रतिशत थारु समुदायको बसोबास रहेको सो पालिकामा सिकलसेल एनिमिया भयावह अवस्थामा रहेको देखिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार रतनपुर स्वास्थ्य चौकी बसन्तामा १९० जनाको परीक्षण गर्दा ३१ जनामा सिकलसेल पुष्टि भएको छ । यस्तै, गदरिया स्वास्थ्य चौकीमा १९५ को परीक्षण गर्दा २५ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

उजलीसेमरमा रहेको बेसौटी स्वास्थ्य चौकीमा ७६ जनाको परीक्षण गर्दा १३, टीसीएन डाँडास्थित हसुलिया स्वास्थ्य चौकीमा १५१ जनाको परीक्षण गर्दा १८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।

यसैगरी, पवेरा स्वास्थ्य चौकीमा १५९ जनाको परीक्षण गर्दा १५, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १३२ जनाको जाँच गर्दा १९ जनामा सिकलसेल पोजेटिभ देखिएको छ ।
योसँगै कैलारी गाउँपालिकामामात्रै सिकलसेल एनिमियाको बिरामीको सङ्ख्या २०९ पुगेको छ ।

यो रोग जिनमार्फत अभिभावकबाट सन्तानमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सिकलसेल एनिमियाका बिरामी बाहक र बिरामी (रोगी) गरेर दुई प्रकारका हुने गर्दछन् । बाहकमा कुनै पनि स्वास्थ्य समस्या नदेखिने गरे पनि बाहक बिरामीले अरूलाई रोग भने सार्ने गरेको चिकित्सकहरू बत्ताउँछन् । रोगी भने महिनैपिच्छे अस्पतालमा उपचार गराउने गरी बिरामी परिरहन्छन् । त्यस्ता बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ ।

आमा बुबा बाहेक वा बिरामी भएपछि सन्तानमा सिकलसेल सर्ने भएकाले कुण्डली हेराएर भन्दा पनि थारु समुदायका युवायुवतीले सिकलसेल जाँच गराएर विवाह गर्नु पर्ने डा. राजन पाण्डेयले जोड दिँदै आउनु भएको छ । उहाँले सिकलसेल एनिमिया कसरी सर्छ भन्ने सचेतनाका लागि सिकलसेल कुण्डली पनि तयार पार्नु भएको छ ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० बैशाख १३

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP