२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

हुलाकी सडक निर्माणमा ढिलासुस्ती

धनगढी – कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ।

निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।

“यही गतिमा काम भयो भने बाँकी रहेको काम पूरा गर्न अझै केही वर्ष लाग्न सक्छ,” उहाँले भन्नुभयो, “काम गरेको देखाउनका लागि ठेकेदारले केही ठाउँमा कामदार खटाउने गरे पनि वास्तवमा काम सन्तोषजनक छैन।” कञ्चनपुरमा ६२ किलोमिटर दूरीमा तीन खण्ड विभाजन गरेर हुलाकी राजमार्ग निर्माण कार्य भइरहेको छ। डोके बजारदेखि बेलौरीसम्मको २२ किलोमिटर रहेको पहिलो खण्डको काम लगभग सम्पन्न हुने चरणमा पुगे पनि अन्य दुईवटा प्याकेजको प्रगति सन्तोषजनक छैन।

बेलौरीदेखि बेल्डाँडीसम्मको दोस्रो प्याकेज २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्म तेस्रो प्याकेजको २२ किलोमिटर सडक रहेको छ। दुवै प्याकेजको अवधि पाँचाैँ पटक थप गरिएको छ। थप गरिएको म्याद आगामी असारमा सकिनै लाग्दा पनि अपेक्षाअनुसार काम हुन नसकेको अयोजनाको कार्यालयले जनाएको छ।

छ वर्ष बित्दा पहिलो प्याकेजको भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको सूचना अधिकारी सुनारले बताउनुभयो। उहाँका अनुसार ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७३ साल फागुन २ गते दोस्रो प्याकेजको ठेक्का सम्झौता भएको थियो। करिब ४१ करोड ४१ लाख रुपियाँमा सिद्धिशाही–बाबाहंश जेभीले ठेक्का पाएर यो खण्डमा काम गरिरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP