२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोना जितेकी युवतीले टेकु अस्पतालबाट दिईन् यस्तो सन्देश

कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन्।

डिस्चार्ज भएपछि उनी घर गइनन्। नेपाल टेलिभिजनमा प्रस्तुत भएकी उनले अस्पताल बसाइँका अनुभव साटिन्।

श्रेष्ठ बलियो आत्मविश्वासका साथ प्रस्तुत भएकी थिइन्। उनले विभिन्न प्रश्नको सामना मात्रै गरिनन्, सरकारदेखि जनतासम्मलाई सुझाव दिइन्।

उनी गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। घर आएको चार दिनपछि उनीसँगै जहाजमा यात्रा गरेकी भियतनामकी साथीले आफू कोरोनाभाइरस संक्रमित भएको सुनाइन्। 

त्यसपछि उनलाई पनि लाग्यो- म अब परीक्षण गर्न जानुपर्छ। उनी चैत ९ गते परीक्षणका लागि टेकुस्थित अस्पताल गइन्, परीक्षण गराइन्। उनमा पनि कोरोनाभाइरस संक्रमण देखियो। त्यही दिन उनी अस्पताल भर्ना भएकी थिइन्।

‘म परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन्। अस्पताल भर्ना भएको दुइ दिनपछि बल्ल लक्षण देखियो। सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो,’ पहिलेका कुरा स्मरण गर्दै श्रेष्ठले सुनाइन्।

फ्रान्सबाट घर आएदेखि नै आफू अलगै बसेको उनले बताइन्।

‘म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ। जहाजमा पनि एक्लै बसेको थिएँ, पूर्वसावधानीले गर्दा परिवारका सदस्यमा कोरोना सर्न पाएन। अरूलाई फैलन पाएन,’ उनले भनिन्।

उनको परिवारका सदस्यमा पनि कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

उनले अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिलेको बताइन्।

‘डाक्टरहरूले म ठीक हुन्छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘अस्पतालले गरेको रेखदेखप्रति म संतुष्ट छु।’

आफ्नो उपचारमा खटिएका डाक्टरहरू सागर राजभण्डारी र अनुप बाँस्तोलालाई उनले धन्यवाद दिएकी छन्। अस्पताल बस्दा कुनै समस्या भए कि भन्ने प्रश्नमा उनले उदाहरणबाट बुझाउने कोसिस गरिन्- मलाई एक दिन कफ भएको थियो। मैले डाक्टर अनुपलाई भनेँ। चार/पाँच घण्टामै छातिको एक्से भइसकेको थियो।

उनले सरकारलाई पनि केही सुझाव दिएकी छन्। धेरै मानिसहरूले आफूले जस्तो सेवा सुविधा नपाएको हुन सक्ने उल्लेख गर्दै उनले राम्रो सेवा सुविधा, आइसोलेसनमा बस्ने व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेकी छन्।

‘सरकारले धेरै प्रयासहरू, काम गरिरहेको छ। सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला,’ श्रेष्ठले भनिन्, ‘धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन्।’

जनता पनि इमान्दारपूर्वक आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नुपर्ने श्रेष्ठ बताउँछिन्। ‘सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो। तपाईं बाहिरबाट आउनुभएइको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ।’

यसपछि उनले सञ्चार माध्यमलाई पनि सुझाव दिइन्। ‘नकरात्मक कमेन्ट आउने गरी र सेन्टिमेन्ट क्रियट नगरिदिनू। मलाई पनि नकरात्मक कमेन्ट आएका थिए। तर म सत्य बोल्ने पत्रकारलाई धन्यवाद दिन्छु।’

उनले सकेसम्म आफूलाई सुरक्षित राख्न सबैमा आग्रह गरेकी छन्। ‘अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू,’ श्रेष्ठले भनिन्, ‘मास्क, ग्लोव्स् र चस्मा लगाउनुस्।’

उनले कोरोना संक्रमण भएर अस्पतालहरूमा उपचाररत विरामीलाई ढाडस दिइन्।

‘धैर्यताका साथ बस्नुहोला। मेरो पनि लगातार टेस्ट गर्दा आजको अवस्थामा आइपुगेको हो। त्यसै होइन। समय लाग्ला तर आत्तिनुपर्दैन,’ उनले भनिन्, ‘ठीक हुन्छ।’

घर फर्किनुअघि उनले कसैलाई आवश्यक पर्दा आफूले प्लाज्मा दिने घोषणा पनि गरिन्।

‘निको हुनुलाई मैले मौकाको रूपमा लिएको छु,’ उनले भनिन्, ‘प्लाज्मामा एन्टिबडि भयो म दान गर्न चाहन्छु। मैले दान गरेको प्लाज्माले हेल्प गरोस् भन्ने आशा छ।’

उपचारमा खटिएकामध्ये डाक्टर अनुपले श्रेष्ठ २७ दिन अस्पताल बसेर पूर्ण रूपमा निको भएर डिस्चार्ज भएको जानकारी दिए। ‘दुइटा पिसिआर टेस्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो,’ उनले भने।

श्रेष्ठलाई सरसफाइमा ध्यान दिन अनुरोध गरिएको तर कुनै पनि औषधि नदिइएको उनले बताए। ‘घरमा सुरक्षित बस्नू। सरसफाइमा ध्यान दिनू,’ उनले भने, ‘उहाँ पूर्ण स्वस्थ हुनुहुन्छ।’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP