२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरका युवा च्याउ खेतीबाट राम्रो आम्दानी लिँदै

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन्। पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउ खेती गर्दै आएका छन् ।

बाह्रैमहिना च्याउ उत्पादन गर्दै आएका उनले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गरेका छन्। यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । ’कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा रू ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ,’ उनले भने, ’उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।’

उनले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आएका छन्। स्थानीय बजारमा रू एक सय ५० देखि रू दुई सय सम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उहाँको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ ।

’च्याउ बिक्री गरी वार्षिक रू पाँच लाख आम्दानी हुने गरेको छ,’ उनले भने, ’उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ।’ रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहेका छन्। मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ। आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उनले बताए ।

निजी स्तरबाट सञ्चालित कञ्चन कृषि वस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उनले च्याउको बीउ आफै उत्पादन गर्छन्। च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् ।

हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाएका हुन्। ’प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइ निजामती सेवा प्रवेश हुन्छ,’ कञ्चन कृषि वस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चूडामणि जोशी भने, ’निजामती सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइँमा वैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ । रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ माघ २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP