२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

दशैं तिहार यात्रा : ज्यान जोखिममा राखेर गाउँघरको यात्रा

पाँच वर्षमा ५४ सवारी दुर्घटना, ८० जनाको मृत्यु २ सय २२ जना घाइते

दिपायल– दशैं तिहार नजिकिदै गर्दा यात्रुहरुको आवत जावत बढेको छ । चाडपर्व मनाउँन देश तथा विदेशबाट गाउँ फर्किनेको चाप बढेसँगै ग्रामीण सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

डोटी जिल्लाका ९ वटा स्थानीयतहरुमध्य तीन वटा स्थानीय तहहरुका थोरै वडाहरुलाई मात्र राजमार्गले छोएको छ । बाँकी पालीकाहरुमा जान ग्रामीण सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय सरकार आएपछि जिल्लाका प्रत्यक टोल र बस्तीमा सडक विस्तार भएका छन् । यहाँका पालिकाहरुले सबै भन्दा धेरै बजेट सडकमै खर्चेका छन् । साँघुरा, चिप्ला र न्यूनतम प्राविधिक मापदण्ड समेत नअपनाएर निर्माण गरिएका सडकहरुले दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

पछिल्लो केहीदिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु कतिपय ठाउँहरुमा भाँसिएका छन्, पहिरोले साँधुरीदै गएका छन् भने कतिपय सडक अवरुद्ध छन् । यात्रुहरुको आवत जावत बढी हुने यो समयमा स्थानीय सरकारले सडक मर्मत र स्तरोन्नतीको कामलाई तिव्रता दिनुपर्ने उग्रतारा यातायात व्यवसायी समितिका डोटी इन्चार्ज कृष्ण भट्टले बताउनु भयो । हामीले यात्रुहरुलाई सेवा दिनै पर्ने अवस्था छ,“उहाँले भन्नु भयो,“सडकको अवस्था राम्रो छैन । यात्रुलाई मात्र नभएर यातायात व्यवसायीलाई पनि ठुलो जोखिम छ । स्थानीय सरकारले जतिसक्दो चाँडो आ–आफ्ना पालिकाहरुको सडक मर्मत गर्न जरुरी छ ।”

विगतको तथ्याङ्क हेर्ने हो भने चाडबाड र बाढी पहिरोको समयमा बढी जस्तो सवारी साधनहरु दुर्घटना हुने गरेका छन् । ग्रामिण सडकहरुमध्य धेरैले अस्थायी अनुमती सम्म पाएका छैनन् । यातायात संचालनको अनुमती नपाएका सडकमा गुड्ने सवारीहरुले जोखिम झनै बढाएको छ । मापदण्ड पुरा नगरेका सडकमा चल्ने सवारीहरुले नै बढी यात्रु ओर्साने गरेका छन् भने दुर्घटना पछि घाईते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक भीम बहादुर बोहराले बताउनु भयो । यहाँका ग्रामीण सडकहरुमा धेरै जसो बोलेरो जीपहरु सञ्चालन हुने गरेका छन् । जीपहरुले बिग्रएका ग्रामीण सडकहरुमा रातीको समयमा समेत सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार्ने गरेका कारण पनि दुर्घटनाको जोखिम बढी रहेको उहाँले बताउनु भयो ।

दशैं लगायतका चाडपर्वका समयमा यातायात व्यवसायीहरुले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । बिग्रएको ग्रामीण सडकमा गाडी सञ्चालन गर्दा गाडीमा बढी क्षती हुने भन्दै भाडा पनि बढी लिने गरेको बागटान गाउँपालिकाका नरेश बमले गुनासो गर्नु भयो ।“एक त जोखिम मोलेर डरैडरको यात्रा गर्नु पर्छ त्यसैमाथि व्यवसायीहरुले बढी भाडा लिने गरेका छन्,“उहाँले भन्नु भयो,“यस्तो विशेष परिस्थितिमा ग्रामीण क्षेत्रमा पनि गाडी चेकजाँचको व्यवस्था गरिनु पदर्छ ।”

ग्रामीण सडकका कारण व्यवसायीहरुको लगानीसँगै चालक र यात्रुको ज्यान जोखिमा रहेको डोटी शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीले बताउनु भयो । सडकको स्तरोन्नतिका सबै तहका सरकारहरुले विशेष प्राथमिकता दिनु पर्ने उहाँको भनाइ छ ।

पाँच वर्षमा ५४ सवारी दुर्घटना, ८० जनाको मृत्यु २ सय २२ जना घाइते

विगत पाँच वर्षको अवधिमा डोटीमा ५४ वटा सवारी दुर्घटनाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सो दुर्घटनामा ८० जनाले ज्यान गुमाएका छन् भने दुई सय २२ जना अङ्गभङ्ग भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १२ वटा सवारी दुर्घटना भए । जसमा ३४ जनाले ज्यान गुमाए भने ८५ जना घाइते भए । २०७५/०७६ मा ११ वटा सवारी साधन दुर्घटना भएकामा ९ जनाले ज्यान गुमाउनु प¥यो भने ३ जना घाइते भए । त्यस्तै २०७६/०७७ मा ९ वटा सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ । जसमा ११ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा पनि ९ वटा सवारी दुर्घटना भएका छन् । जसमा १४ जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए । २०७८/०७९ मा १३ वटा सवारी दुर्घटनाका घटना घटेका प्रहरीले जनाएको छ । जसमा १२ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए ।

दुर्घटना भएका सवारीहरु मध्य अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने बोलेरो जीपहरु दुर्घटनामा परेका हुन् । साँघुरा, कच्ची सडक र क्षमता भन्दा बढी यात्रुहरु बोकेका कारण बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक बोहराले बताउनु भयो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ आश्विन १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP