२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा सञ्चालन

दिपायल- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराले पहिलो पटक लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा सञ्चालन भएसँगै प्रदेशका ७ पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लिन सहज हुने भएको छ । यस अघि तराइँका जिल्लाहरु कैलाली र कञ्चनपुरबाट मात्रै लाइसेन्स वितरण हुने गरेको थियो । डोटी र डडेल्धुराबाटै लाइसेन्स वितरण हुने भए पछि डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका सवारी चालकहरुलाई अनुमतीपत्र लिन सहज हुने भएको छ ।

पहाडी जिल्लाबाटै सवारी लाइसेन्स लिन पाइने भएपछि एक दिनको यात्रा गरेर पटक–पटक तराइँका जिल्लाहरु धाउनु पर्ने बाध्यता हटेको स्थानीय शेर बहादुर साउँदले बताए । ‘यस अघि लाइसेन्सको फोटो खिच्न, परीक्षा दिन र ट्रायल दिन डोटीबाट एक दिनको यात्रा गरेर लाइसेन्स लिदाँ ४÷५ पटकसम्म कैलाली, कञ्चनपुर धाउनु पर्ने बाध्यता थियो,‘उनले भने,‘अब कम खर्चमा जिल्लाबाटै लाइसेन्स लिन सकिने भएपछि खुसी छौं ।’

डोटीमा शनिबार र डडेल्धुरामा आइतबार गरी पहिलो पटक ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुटर, जीप र कारको लिखित परीक्षा सञ्चालन भएको हो ।

डडेल्धुरामा पहिलो पटक सञ्चालन भएको लिखित परीक्षामा १ सय ६० जना सहभागी भएको यातायात व्यवस्था कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख मेखराज उपाध्यायले जानकारी दिए । उहाँका अनुसार कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी भएका थिए भने मोटरसाइकल र स्कुटरका लागि १ सय २२ जनाको बायोमेट्रिक भएकोमा १ सय १७ जना सहभागी भएका थिए ।

त्यस्तै डोटीमा सञ्चालन भएको लखित परीक्षामा १ सय ४५ जना सहभागी रहेको यातायात व्यवस्था कार्यालय डोटीका कार्यालय प्रमुख पूर्ण बहादुर शाहले जानकारी दिए । उहाँका अनुसार डोटीमा कार र जीपका लागि ३६ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा २८ जना सहभागी थिए भने मोटरसाइकल र स्कुटरका लागि १ सय ३० जनाको बायोमेट्रिक भएकोमा १ सय १७ जना सहभागी थिए । पहिलो लटको लिखित परीक्षा सकिएसँगै परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी भएको बताउँदै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन गरिने उनले बताए ।

दिपायल तथा डडेल्धुराबाट लाइसेन्स लिन चाहने व्यक्तिहरुले अहिले पनि अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ श्रावण ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP