२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

गीतबाटै लकडाउनको पालना गराउँदै प्रहरी (भिडियो सहित)

सामाजिक सञ्जालमा यति बेला एउटा भिडिओ चर्चामा छ। भिडिओमा एक प्रहरी जवान बीच चोकमा माइक बोकेर उभिएका छन्। ‘घुम्तीमा नआऊ है..’ गीतको भाकामा ‘घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..’ भन्दै गाइरहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीको फेसबुकमा पोस्ट भएको उक्त भिडिओमा देखा परेका प्रहरी जवान हुन् धिरज लिम्बू। उनले गाएको परिमार्जित गीत ‘घर बाहिर नजाऊँ है…’ लेखेका हुन् नारायण डंगोलले।

गीतकार डंगोल इटहरीकै हुन्। उनले यसअघि थुप्रै चुनावी गीत र बालगीतहरू लेखेका थिए। गत साता उनले ‘आज–तक’ च्यानलमा भारतका एक डिएसपीले कोरोना भाइरस सचेतनामूलक गीत गाइरहेको देखेछन्। त्यसले उनलाई छोयो।

‘गीतको माध्यमबाट नेपाल प्रहरीले पनि सचेतना फैलाउन सक्छ है’ भन्ने लागेपछि उनी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीको सम्पर्कमा आए।

‘गीत–संगीतमार्फत् मान्छेलाई बुझाउन र सम्झाउन केही हिसाबमा सजिलो हुन्छ,’ डंगोलले आइतबार सेतोपाटीलाई भने, ‘कसैलाई यसको शब्दले सोच्न बाध्य बनाउँछ भने कसैलाई यसको धूनले नै। अहिलेको समयमा प्रहरीमार्फत् नै सुनाउँदा थप प्रभावकारी हुने महशुस भयो। त्यसैले इलाका प्रहरीसँग सम्पर्क गरेँ।’

डिएसपी भण्डारीलाई पनि ‘आइडिया’ राम्रो लाग्यो। डंगोलले कोरोना भाइरस सचेतनाका लागि गीत रचना गरीवरी तयार पारेका थिए। डिएसपी भण्डारीले त्यो स्वीकारे।

‘तर मलाई गीत गाउन आउँदैन। प्रहरी जवान धिरजलाई गीत–संगीतको ज्ञान थियो। उनैलाई गीत गायनका लागि भन्यौं,’ डिएसपी भण्डारीले सेतोपाटीलाई भने, ‘लिरिक्स तयार थियो, गायक पनि तयार। भोलिपल्टै रेकर्डिङमा लाग्यौं।’

संगीत निर्देशन बालकृष्ण कार्कीले गरिदिने भए। डंगोलले झन्डै पाँच मिनेट लामो गीत तयार पारेका भए पनि ‘ट्रयाक’ नमिलेका कारण तीन मिनेट बाह्र सेकेन्डको मात्र भयो।

रेकर्डिङ सकिएपछि गत बिहीबारदेखि इलाका प्रहरी इटहरी, टोल-बस्तीमा गएर ट्रयाक बजाउँदै र प्रहरी जवान धिरज गाउँदै गरिरहेका छन्।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र २३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP