२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

दुःख खेप्दै सीमामा अलपत्र नेपाली

“चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दुर्व्यवहार खेपेर बस्नुपर्ने हो ?” जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका ५ जुम्लाका जनक शाहीले दुखेसो व्यक्त गर्नुभयो ।

उहाँका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अलपत्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आएपनि आफूहरुको उद्धार नभएको पीडित शाहीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ न नेपालको प्रहरीले नेपाल पस्न दिन्छ नत भारतीय प्रहरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्रहरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता ? संकटमा अरु देशले आफ्ना नागरिकहरु उद्धार गरिरहेको बेला हाम्रो संकट किन बुझ्दैन सरकार ?”

उहाँका अनुसार जमुनाह नाकामा हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, अर्घाखाँचीलगायत १५ जिल्लाका नागरिकहरु फसेका छन् । नेपाल सरकारले चैत्र १८ गतेसम्म घोषणा गरेको लकडाउन खुल्ला र मातृभूमि पुगौंला भनेर राखेको आशा लकडाउन थपिएपछि निराशामा परिणत भएको पीडित शाहीले बताउनुभयो । “नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पिटेरै लखेट्छ । दैनिक अपमान खेपिरहनु परेको छ,” हिमा गाउँपालिका ५ जुम्लाका बलबीर रोकायाले भन्नुभयो । सरकारले बरु चाँडो नेपालमा लिएर आफूहरुलाई क्वारेन्टाइनमा राखिदिनुपर्ने उहाँले आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनको समयमा दुवै देशले जहाँबाट नागरिक आएको त्यही देशले व्यवस्था गर्ने नेपाल र भारत सरकारले सहमति गरेको निर्णय अनुसार व्यवस्थापनको काम भइरहेको राससलाई बताउनुभयो ।

प्रजिअ खड्काले भन्नुभयो, “सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् । भारतमा गएर क्वारेन्टाईनमा बस्न हामीले धेरै प्रयास गर्‍याैँ तर मान्नु भएन । खानपीनको त्यस्तो समस्या छैन ।” आज उहाँहरुको समस्या जसरी भएपनि समाधान गरिँने जनाउँदै उहाँले नेपाल सरकारको निर्णय भएकोले यहाँबाट व्यक्तिले चाहेर केही नहुने उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाले अन्तरराष्ट्रिय सीमा नाका भएकोले यो समस्याको समाधान गर्ने कुरा स्थानीय सरकारको वशमा नरहेको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले सीमामा अलपत्र नेपालीलाई स्थानीय सरकारसहित आसपासका गाउँलेले पनि खानपिनमा सहयोग पुर्‍याएको जनाउनुभयो । रासस

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७६ चैत्र २०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP