२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

कांग्रेसद्वारा असहाय दलित महिलालाई दसैँमा घर उपहार

डोटी– वर्षौं अघि श्रीमानले बनाएको घर गत जेठमा भत्कियो । पथ्थरले बनेको छानो भत्किएपछि घर बस्न लाएक रहेन ।

घर घत्किएसँगै केआईसिंह गाउँपालिका–३ झिँगाबस्तीकी ५० वर्षीय दुर्गा पार्की दुई छोरी सहित छिमेकीले कुखुरा पालनका लागि बनाएको टिनको खोपामा बस्न थालिन् । पाँच छोरीकी आमा दुर्गाले श्रीमान गुमाएको १६ वर्ष भन्दा बढी भैसकेको छ । भारतमा मजदुरी गर्न गएका उनको जन्डिसका कारण उतै निधन भयो ।

श्रीमानको निधन पछि पाँच छोरीहरुको अभिभावकत्व निभाउन र पालन पोषण गर्न दुर्गाले निकै संघर्ष गर्नु प¥यो । ‘मेरो दैनिक मजदुरीले दुई छाक र श्रीमानको भारतको कमाईले लुगाफाटोको जोहो भैरहेको थियो दुर्गाले भक्कानिदै भनिन्,‘उनको निधन पछि स्याना छोरीहरुको पेट भर्नै मुस्किल हुन्थ्यो । पालन पोषण गर्न नसकिए पछि तीन जना छोरीको कलिलै उमेरमा विवाह गरेर पठाए उनले थपिन्,‘दुई जना अझै हुर्किदैछन् ।’

अहिले दुर्गालाई दैनिक हातमुख जोर्न निकै कठिन छ । यसै बीच श्रीमानले बनाएको घर भत्किए पछि झनै पीडा थपियो । जमिनका नाममा त्यही घर भएको जमिन छ । उनि दैनिक अरुको खेत बारीमा काम गरेर गुजारा चलाउँदै आएकी छिन् ।

कुखुरा पालनका लागि बनाएको टिनको खोपामा बस्दै आएकी दुर्गा दैनिक साँझ विहान भत्किएको घर हेर्न जान्थिन् र धुरुक्क आँशु झार्दै फर्किन्थिन् । छिमेकीका लागि उनको समस्या सामान्य जस्तै लाग्थ्यो ।

वर्षौं पुराना बाकस, लुगाकपडा, थोरै रासन भएका बोराहरु, पुरानै भाँडाकुँडा र त्यही कुखुराको खोरमा दसैँ मनाउनु पर्ने उनको बाध्यता थियो । यसै बीच उनको समस्या र घरमा नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाको नजर प¥यो । नव निर्वाचित गाउँ इकाई समितिले उनको घर पुनर्निर्माण गरिदिने र दसैँमा त्यही घर उपहार दिने योजना बनायो । कांग्रेस सचिव वीर बहादुर कुँवरको प्रस्तावमा एकेवद्धता जनाउँदै आफुहरुले छोटो समयमा घर पुनर्निर्माण गरी हस्तान्तरण गरेको नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले बताए ।

पीडित दुर्गाले घर भत्किएसँगै थपिएको पीडामा मलम लागेको बताईन् । घरमा प्रवेश गर्दा गहभरी आँसु पारेकी उनले दसैँमा पुरानै ठाउँ पुरानै घरमा बस्न पाउँने भए भन्दै खुसि व्यक्त गरिन् ।

ढिला गरी जानकारीमा आएको उक्त समस्याको समाधान तत्काल गर्नका लागि व्यक्तिगत रुपमा सहयोग जुटाएर घर निर्माण भएको महासमिति सदस्य एवं केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । आफुहरु असहाय, गरिव, पीडित, पछाडी परेको समुदाय वर्ग र जनताका लागि नै राजनीति गरिरहेको बताउँदै अध्यक्ष शाहीले यस्ता कार्यलाई निरन्तरता दिने बताए ।

घर हस्तान्तरणसँगै मंगलबार नै नेपाली कांग्रेस केआईसिंह गाउँपालिका वडा नं. ३ र ४ मा दसैँ तिहारको शुभकामना आदान प्रदान गरिएको छ । वडा इकाई समितिले आयोजना गरेको कार्यक्रममा महासमिति सदस्य शाही, महाधिवेशन प्रतिनिधि मिना विष्ट, सभापति बलायर लगात नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ आश्विन २६

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP