२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

मकै जोगाउन जाग्राम बस्छन् डोटीका किसान

डोटी- जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका  हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।

बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआइसिंह–५ तलिगाउँका स्थानीयवासी चेतराज भट्टले बताए । “दिँउसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावरले बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरानी भइसक्यौँ,” उनले भने ।

यहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनिने तेलेलेकबाट आउने बँदेलको झुण्डले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपालिका–५ का भरत सार्कीले बताए । “राति बँदेल हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भाग्दैनन, सबै बाली खाएर नोक्सान गर्ने गरेका छन्,”उनले भने ।

डिभिजन वन कार्यालयले जङ्गली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।रासस

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ भाद्र १३

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP