२०७७ फाल्गुन २०, बिहीबार
March 4, 2021, Thursday

पूर्वीचौकी गाउँपालिकामा विद्युत् विस्तार : स्थानीयवासी खुशी

विद्युतको उद्घाटन गर्दै कंग्रेस नेता कुबेर खड्का

जिल्लाको पूर्वीचौकी गाउँपालिकाको सातवटै वडामा विद्युत् विस्तार हुन थालेको छ । गाउँपालिकाको नीति तथा नियम अनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रसारणलाइनको विद्युत् सेवा विस्तार गर्ने योजना अनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तार गरिन लागेको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । 

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको रु २८ लाख बजेट र नेपाल विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकाभरिमा विद्युत् सेवा विस्तार गरिन लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“गाउँपालिकाभरिमा राष्ट्रिय प्रसारणको विद्युत् पु¥याउने योजना अनुसार बजेट विनियोजन भएको थियो, सोही रकमबाट अहिले गाउँगाउँमा विद्युत् विस्तार हुँदै छ ।”गाउँमा विद्युत् विस्तारको क्रम शुरु भएसँगै अहिले उक्त गाउँपालिकाका विभिन्न वडामा कुटानी, पिसानीका मिल सञ्चालन गर्न अनुमतिका लागि निवेदन दर्ता गर्नेको घुइँचो लाग्न थालेको बताइएको छ ।

 यसै सिलसिलामा उक्त गाउँपालिका–५ काडामाडौँको उपरकाँडा गाउँमा विस्तार गरिएको राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले एक कार्यक्रमकाबीच आज उद्घाटन गर्नुभएको छ । उक्त विद्युत् प्रशसारणलाइनको उद्घाटन गर्नुहुँदै अध्यक्ष बोगटीले विगतमा जनतासँग गरेका वाचा अनुरुप आफूले गाउँमा विद्युत् विस्तार गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“विगतमा मैले यहाँका जनतासँग विद्युत्, सडक र खानेपानीको व्यवस्थाका लागि वाचा गरेको थिएँ सोही वाचाअनुरुप सबै कामको विस्तार गर्दै छु ।” विद्युत् विस्तार भएसँगै उक्त गाउँका मात्रै ११४ घरधुरी प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

वर्षौदेखि विद्युत् सेवा नहुँदा सल्लाको दियालो (झुरो) र टुकिको भरमा उज्यालो बनाउँदै आएका त्यहाँका नागरिक गाउँमा विद्युत् विस्तार भएपछि निकै खुशी भएको पूर्वीचौकी गाउँपालिका–५ चैकोटका स्थानीयवासी चक्रबहादुर कठायतले बताउनुभयो ।

गाउँपालिकाका सात वटै वडामा विद्युत् विस्तार गर्ने पूर्वीचौकी गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह भएको गाउँपालिकाको दाबी छ । गाउँगाउँमा विद्युत् सेवा विस्तार भएर बिजुली बल्न थालेपछि उक्त गाउँपालिकाका सबै गाउँ रातिको समयमा झिलिभिली हुने गरेको अर्का स्थानीयवासी करण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा विद्युत् विस्तार भएको छ, दिउँसो भन्दा रातिको समयमा बढी रमाइलो र झिलिमिली देखिन्छन् अहिले हाम्रा गाउँ घर त ।” गाउँपालिकाभरिमा गएको आर्थिक वर्षको बजेट विनियोजसँगै विद्युत् विस्तारको कार्यको थालनी गरिएको बताइएको छ । 

पूर्वीचौकीलाई उज्यालो गाउँपालिका बनाउने नीतिअनुसार पहिलो प्राथमिकता विद्युत् विस्तारलाई दिइएको गाउँपालिका अध्यक्ष बोगटीले जानकारी दिनुभयो । गाउँपालिकाभरिमा केही विगत गाउँ मानिएका धानुकाँडा, बोगटी गाउँलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा विस्तार भई सञ्चालनमा आइसकेको स्थानीयवासी बताउँछन् । उक्त गाउँपालिकाका प्रत्येक घरमा चालू आर्थिक वर्षको अन्तिमसम्म बिजुली बाल्ने गाउँपालिकाले योजना बनाइ सोही अनुसारको हामीलाई पत्राचार गरेकाले हामीले विद्युत् विस्तारको काम अगाडि बढाइरहेको डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख कपिलदेव जोशीले जानकारी दिनुभयो ।

Related News

पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार स्वारद्वार जन्मदिनमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन २०

डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...

होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
होटल व्यवसायी संघ डोटीद्वारा वनभोज कार्यक्रमको आयोजना
  • २०७७ आश्विन २०

डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...

देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी ?
  • २०७७ आश्विन २०

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...

TOP