दिपायल । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने तथा तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास रहेकाले पश्चिम नेपालमा तुलनात्मक रूपमा बढी वर्षा भइरहेको विभागको भनाइ छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्ला केही दिनदेखि मनसुनको अवस्था स्थिर रहे पनि अब तराई क्षेत्रमा वर्षाको गतिविधि बढ्ने संकेत देखिएको छ। उनका अनुसार मंगलबारदेखि तराईका अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेको छ।
कैलालीका नदीमा फेरि देखिन थाले डल्फिन, मनसुनसँगै बढ्यो चहलपहल कैलाली...