२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीमा वर्षा र असिनाले खेतीपाती भित्र्याउन समस्या

डोटी : जिल्लाका विभिन्न ठाउँमा शनिबार राति परेको असिनापानीले लाखौँको खेतीबाली तथा तरकारी नष्ट गरेको छ। पाकेको बालीलाई नोक्सान गरेपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ। 

जिल्लाका आदर्श, जोरायल, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, बडिकेदार गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिकाका विभिन्न वडामा पाकेर भित्र्याउनै लागेको लाखौँको खेतीबाली नष्ट गरेको स्थानीयवासीले जानकारी दिएका छन्। गहुँ, जौ, तोरीलगायत हिउँदेबाली असिनाले चुटेर नष्ट गरेपछि किसान निरास भएको  जोरायल गाउँपालिका–३ का सन्तोष अवस्थीले जानकारी दिए। उनले भने, “पाकेर भित्र्ययाउने अवस्थामा रहेको हिउँदै बाली असिनाले चुटेर नष्ट गरेको छ, भोकमरी हुनसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ।”

यहाँका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको जानकारी आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। यसअघि पनि यही वैशाख २ गते जिल्लाको जोरायल, सायल र पूर्वीचौकी गाउँपालिकाको अल्याडी, गडाखर्क, भल्मा, झिग्राना, बग्लेक क्षेत्रमा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा समेत क्षति गरेको थियो। 

त्यसैगरी वर्षा र असिनापछि जोरायलको सैगडीगाड र सेरापुलको गाडमा बाढी समेत आएपछि जोरायग गड्सेरा तथा बिपीनगर गड्सेरा जोड्ने सडकसमेत अवरुद्ध भएको जोरयाल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए। उनले भने, “हिउँदेबाली भित्र्याउने समयमा पटक–पटक परेको असिनाले गहुँ, जौलगायत तरकारी नष्ट गरेको छ, ठूलो वर्षाद्ले सडकसमेत अवरुद्ध भएका छन्, समस्या भएको छ।”

केही दिनयता मौसममा आएको खराबीका कारण जिल्लाका किसानलाई बाँकी रहेको गहुँबाली भित्र्याउन निकै समस्या भएको छ। केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको सायल गाउँपालिका–१ का स्थानीय हरिबहादुर थापाले बताए। उनले भने, “लगातार वर्षा र पानी परिरहेको छ, हिउँदे बाली काट्नै पाएका छैनौँ, समयमै नकाटे बाँकी रहेको बाली पनि असिनाले सखाप गर्ने छ।”
जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको र एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले पाकेको गहुँ काट्न समस्या भएको शिखर नगरपालिका–१ गुठेउडीका किसान लक्ष्मण ऐरले जानकारी दिए। 

उनका अनुसार लगातारको वर्षाका कारण घरभित्रै सड्ने अवस्थामा पुगेको छ। यो वर्ष बढी पानी परेका कारण गहुँ उत्पादन पनि घट्ने जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ। गत वर्ष जिल्लाभरिमा कूल २९ हजार  मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ। जिल्लामा कूल १९ हजार ४०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ। 

लगातारको वर्षा र असिनाले डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्ला, बैतडी, दार्चुला, बझाङ, अछाम, बजुरा र डडेल्धुरामा अन्नबाली भित्र्याउन किसानलाई निकै समस्या भएको छ। केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि वर्षा हुन थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दिपायल सिलगढी नगरपालिका स्वाँणाका स्थानीय डम्मरबहादुर साउदले जानकारी दिए। केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन्। यहाँका पहाडी जिल्लाका किसानलाई वर्षा र असिनाले खेतीपाती भित्र्याउन बाधक बनेको हो। –रासस

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ बैशाख २८

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP