प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले आफ्नो भूमिका बिर्सिंदा लज्जित हुनुपरेको छ । प्रहरी अस्पताल दिपायललाई स्थानान्तरण गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि नै प्रहरी प्रधान कार्यालयले धनगढी सार्ने निर्णय गरेको पत्र दिपायल पुगेपछि गृह मन्त्रालयले स्पष्टीकरण नै मागेको छ ।
‘प्रहरी प्रधान कार्यालयले दिपायलको प्रहरी अस्पताल धनगढी सार्ने निर्णय नै गरेर पत्र दिपायल पठाएको रहेछ । उक्त पत्र देखेर एकछिन त गृहसचिव नै छक्क परे,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।
उक्त फाइलबारे छलफल गर्न पछि गृहसचिवले आईजीपीलाई मन्त्रालयमा बोलाएपछि भने ‘सरी हजुर ! यो मिस्टेक भएछ’ भन्दै पत्र फिर्ता मगाएको गृह स्रोतको भनाइ छ ।
आईजीपी ज्ञवालीले हस्ताक्षर गरेको चलानी नम्बर ३९७ को पत्र ‘लकडाउन’कै बीच १७ चैतमा दिपायल पुगेको थियो ।
प्रहरी युटिन सार्नेदेखि नयाँ ठाउँमा प्रहरी चौकी राख्नेसम्मको निर्णय गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ ।
तर, प्रहरी निरीक्षक प्रमुख रहेको दिपायल अस्पताल सार्ने निर्णय प्रहरी प्रधान कार्यालयले आफैँले गरेर पत्र नै पठाउनु हास्यास्पद भएको गृह मन्त्रालयको भनाइ छ ।
‘यति ठूलो निर्यणको पत्र आईजीपी सा’बले आफ्नो भूमिका के हो ? भन्ने हेक्का नराखी ल्याउनु गम्भीर त्रुटि हो,’ गृहका अधिकारीले भने ।
उसो त, आईजीपीले ल्याउने हरेक फाइलमा कुनै न कुनै गल्ती भएर नै आउने गरेको ती अधिकारीको भनाइ छ ।
‘हरेक पल्ट प्रहरी प्रधान कार्यालयबाट आउने फाइल नमिलेको भन्दै करेक्सनका लागि फिर्ता जान्छ । यस्तो किन दोहोरिइरहेको छ, त्यो हामीलाई थाहा हुने कुरा होइन,’ गृह स्रोतले भन्यो ।
प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले भने यसबारे थाहा नभएको बताए ।
यसअघिसमेत गृहसचिव र आईजीपीबीचको विवाद सतहमा आएको थियो । डीआईजीको दरबन्दी घटाउने कि राख्ने भन्ने विषयको छलफललाई लिएर आईजीपीको सचिवालयले अनावश्यक मिडियाबाजी गरेको गृह मन्त्रालयको बुझाइ छ ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...