२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी

धनगढी — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ। पार्टीको प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहले बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन्।

बैठकमा सहभागी एक सांसदका अनुसार सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने धारणा राखिएको छ। यद्यपि यस विषयमा औपचारिक निर्णय भने बैठकबाट हुन बाँकी रहेको उनले बताए।

बैठकमा सरकार अहिले कामचलाउ अवस्थामा पुगेकाले कुनै ठूला नीतिगत निर्णय नगर्न आग्रह गर्ने तथा नेकपाले प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने विषयमा पनि निर्णय हुने जनाइएको छ।

बैठकमा पार्टी इञ्चार्ज भानुभक्त जोशी, सह–इञ्चार्ज दीर्घबहादुर सोडारी तथा पार्टी अध्यक्ष हरि चौधरी सहभागी छन्।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच संघीय गठबन्धनबारे अन्तिम निष्कर्ष नआएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल जारी राखेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशसभामा आफू सबैभन्दा ठूलो दल रहेको दाबी गर्दै नेकपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको छ। प्रदेशसभामा नेकपाका निलम्बित सदस्य र सभामुखसहित २२ सांसद रहेका छन्।

यता, प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्ने भए पनि कांग्रेसका १८ सांसदमध्ये एक सांसद विदेशमा रहेका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।

बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला बसेको नेकपा संसदीय दलको बैठकलाई प्रदेश राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८३ असार ३२

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP