२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

काललाई कोरोना लागेपछि

हिक्मत शाही

” प्रभु ! एउटा बिन्ती टक्र्याउँ कि भनेर , प्रभु ? ” हस्याङ्फस्याङ् गर्दै कैलाश पुगेको कालले घुँडा टेकेर शाष्टाङ्ग डण्डवत प्रणाम गर्दै महादेवलाई बिन्ती बिसायो ।

” के समस्या पर्यो र ? भन न । ” ध्यानमग्न महादेबले अाँखा खोले ।

” धेरै वर्ष भयो प्रभु , अदृश्य भएर काम गर्न थालेको । हिजो अाज त अाफ्नै जागिर देखेर बितृष्णा लाग्न थाल्यो प्रभु ! ” रुन्चे स्वरमा काल बोल्यो ।

” त्यसो भए के जागिर नै छोड्ने बिचार गर्यौ कि क्या हो ? ” यति भनिरहँदा महादेवको तेस्रो नेत्र झनै प्रश्न सुचक देखियो ।

” जागिर छोड्ने कुरा त म कल्पना पनि गर्न सक्दिन प्रभु ! घरपरिवार मेरो जागिरमै अडेको छ । मैले जागिर छोडे भने त मेरो परिवारको बिचल्ली हुन्छ अन्न दाता । जहान परिवार भोकभोकै मार्ने अपराध म कसरी गर्न सकुला र प्रभु ? ” अाँसु झारुला झारुला झै गरेर शुष्क श्वरमा काल बोल्य‍ो ।

” जाबो बिदा मात्रै चाहिएको भए यहाँ सम्म किन पुगेको नि ? यमराजलाई भनेको भए भैहाल्थ्यो त ! तिम्रा खास हाकिम उनै हुन् क्यारे । ” महादेशको अनुहारमा थोरै असहजता देखियो ।

” बिदा मात्रै चाहिएको भए त यहाँ सम्म कहाँ पुग्थे र प्रभु । कुराे अलि जटिल भएर मात्रै । ” अाँखा जमिन तिर गाडेर काल बोल्यो ।

” कुरो नघुमाइकन भन न त । के भन्न अाका हौ ? ” महादेव अाफ्नो अासनबाट जुरुक्क उठे ।

” प्रभु ! अब मलाई अदृश्य भएर काम गर्ने कुनै रहर छैन प्रभु !! मलाई पहिलेको झैं सबैले देख्ने बनाइ दिनुपर्यो अन्नदाता । ” कालले अाफ्नो लाचारी एकै सासमा पस्कियो ।

” निकै गम्भीर कुरा लिएर अाका रै छौ । यस बिषयमा निर्णय लिन त मैले पनि ब्रम्हा र विष्णुसँग समेत परामर्श लिनु पर्छ । फेरि यमराजको के राय छ ? “
यति भनिसकेर महादेवले दायाँबायाँ हेरे ।
” अर्को कुरा लालुले रुखमा थुनेको घटना भुलेकै हौ त ? ” मुसुक्क मुस्कुराउँदै महादेवले फेरि थपे ।

” त्यो धोकेबाज लालु र उसको कर्तुत त कहाँबाट भुल्नु र अन्नदाता । जे भएपनि त्यो घटना निकै पुरानो भैसक्यो प्रभु ! फेरि त्यो घटनाबाट म निकै सचेत पनि त भएको छुँ । “
ङिच्च दाँत देखाएर काल बोल्यो ।
” प्राणदाता ! यस बिषयमा प्रभुहरुसँग सल्लाह गरेर मेरो माग सम्बोधन गरिबक्सनु पर्यो प्रभु ! म हजुरहरुको सदासयताको लागि जीवन रहेसम्म ऋणी रहने छुँ , प्रभु ! ” कालले याचनाको भावमा फेरि थप्यो ।

” यस विषयमा सबैसँग सल्लाह गरेर म तिमीलाई भोली निर्णय सुनाउँछु । ” महादेवले यति भनेपछि अर्को दिन भेट्ने बाचा गरेर काल कैलाशबाट बिदाभय‍ो ।

********

काल निस्किए पछि कैलाशमा ब्रम्हा , बिष्ण अनि महेशको सङ्युक्त बैठक बस्यो । बैठकमा यमराजलाई समेत बोलाइयो ।
काम गर्दा पहिलेको झैं व्यावहारिक कठिनाई अाउन सक्ने यमराजको नोटअफ डिसेन्ट हुँदाहुँदै पनि लामो छलफल पछि त्रिदेवले कालको पक्षमा निर्णय गरे ।

********

भोली पल्ट काल भनेकै समयमा कैलाश पुग्यो ।

” प्रभु ! म हजुरलाई दुःख दिन फेरि अाएँ । ” डण्डवत प्रणाम गरेर कालले अाफ्नो जिज्ञासा राख्यो ।

महादेवले ; ” तथास्तु ! ” भने ।

” हजुर सार्है कृपालु होइबक्सन्छ , अाशुतोष ! हजुरको जय होस् , प्रभु ! ” काल यति भनेर महादेवको दुबै गोडामा लम्पसार पर्यो । नयाँ कार्यकालको शुभकामना सहित उ कृतज्ञ भएर कैलाशबाट निस्कियो । खुसीले उसका गोडा भुइँमा थिएनन् । कालको जयजयकारको प्रतिध्वनी कैलाशमा परपरसम्म गुन्जायमान भयो ।


अब काल अदृश्य रहेन । उ लालुले सिमलको रुखमा थुन्नु पूर्वको अवस्थामा फर्कियो । धेरै जुगपछि अाफ्नो कायाकल्प भएको देखेर काल प्रफुल्ल भयो । घर फर्किए पछि उसले अाफुलाई एक पटक होइन अनेक पटक ऐनामा हेर्यो । अाफ्नो फेरिएको अनुहार अाफैले नदेखेको उसलाई सयौं वर्ष भैसकेको थियो । सुरुमा त कालकी जहान र छोराछोरीले समेत उसलाई चिन्न सकेनन् । सबै कुराको बेलिबिस्तार सुनेपछि पछि मात्र उनीहरु पनि पत्याए ।
अाफु फेरिएकोले होला सायद , काललाई अाफ्नो अासपासका सबै चिजहरु नयाँ अनि अनौठा लाग्न थाले । यति सम्म कि उसलाई अाफ्नै छोराछोरी र जहान समेत नयाँ लागे । खुसी – खुसीमा कालले भब्य भोजको अायोजना गर्यो । मसाने उसका छिमेकीहरु । छिमेकीहरुले पेट भरेर मासुभात डकारे । अघाएर कृतज्ञ भएका छिमेकीहरुले उसलाई नयाँ कार्यकालको शुभकामना दिए र राति अबेर सबैजना अा-अाफ्नो घरतिर लागे ।
अरु कुरा त सबै ठिकै थियो तर उसलाई एउटा कुराको समस्या अाइलाग्यो । त्यो के भने उसले अदृश्य भएदेखि न नयाँ लुगा किनेको थियो न त सिलाएको नै । कसैले नदेख्ने भएपछि केलाई लुगा लगाउनु पर्यो र भनेर उ सर्वाङ्ग हिड्न थालेको थियो । अब लुगाको खाँचो परेपछि उसले घरती लोकमा प्रचलनमा रहेका बिभिन्न देशका लागि अावश्यक पर्ने अलग- अलग मोडलका लुगाहरु सिलायो ।

सबै तयारी पछि काल अाफ्नो हाकिमी कार्यालय अर्थात यमराज कहाँ गयो । फेरिएको काललाई देखेर यमराज समेत छक्क परे । यति सफासुग्घर र चिटिक्क परेको काललाई उनले धेरै वर्ष यता देखेका थिएनन् । अाज चाँही काललाई देखेर यमराजलाई समेत इर्श्या लाग्यो ।

” महाराजको जय होस् । ” बडो अदबका साथ काल बोल्यो ।

” तँ अाइस् हैन त ? ” यमराज पुरानै शैलीमा बोले ।

” अाएँ प्रभु ! अब हजुरको अाज्ञा पाए धर्ती लोकमा जान तयार छुँ । ” काल उसैगरि अदबका साथ बोल्यो ।

त्यसै बिच हातमा तमाम बहिखाता बोकेर चित्रगुप्त टुप्लुक्क देखापरे । कालले उनलाई समेत अभिवादन गर्यो ।

” जा अब , ज जस्को मिति पुगेको छ तिनलाई एक-एक गरेर माथि पठा । ” यमराजले अादेश दिएपछि काल धर्ती तर्फ अोर्लियो ।

चीनको बुहान सहरबाट उसले पहिलो मानिस उठाउनु पर्ने देखियो । त्यो पनि महिला । उसले कुनै बिलम्ब नगरेर त्यो सासमा जटिल समस्या देखापरेर ज्वरोले सिथिल भएकी महिलालाई उठायो र यमलोकमा पठायो । कामको प्रारम्भ अत्यन्त सरलता पूर्वक सम्पन्न भएपछि हौसिएको कालले चीन हुँदै , एसियाका अन्य देशहरु , युरोप , उत्तर अमेरिका , अष्ट्रेलिया , दक्षिण अमेरिका हुँदै अफ्रिका सम्मका मानिसहरुलाई धमाधम यमलोक पठाउन थाल्यो । केहि दिनमा हजारौं मानिसहरु उठायो उसले । यमलोक उक्लने यति ठूलो मानिसको भिड उसले दोस्रो विश्वयुद्धयता देखेकै थिएन । यति धेरै मानिसहरु किन अनि के कारणले मरिरहेका हुन् भन्ने कुराको चाल कालले समेत पाउन सकेन । तर जिम्मेवारी निर्वाह त गर्नु नै थियो । जे भएपनि लगालग कामको चापले उसले अाफ्नो ब्यक्तिगत सुरक्षा र सरसफाइमा समेत ध्यान दिन सकिरहेको थिएन ।

युरोप पछि अमेरिकाको न्युयोर्क सहरबाट धमाधम मानिसहरु यमलोक पठाइरहेको समयमा एक्कासि काल नै अस्वस्थ भयो । उसलाई सुरुमा रुघाखोकीको लक्षण देखियो । सुक्खा खोकी लाग्ने , घाँटी दुख्ने , नाकबाट सिँगान बग्ने समस्या बिस्तारै ज्वरोमा परिणाम भयो । ज्वरो बढेपछि अस्पतालमा गएर स्वास्थ परीक्षण गर्ने निश्कर्षमा पुग्यो काल । अस्पतालमा भर्ना हुन उसलाई कुनै समस्या भएन किन भने उ दुरुस्त मान्छे जस्तै थियो । स्वाब परीक्षमा कालमा कोरोना पोजेटिभ देखिए पछि अाइसोलेसनमा राखेर उसको उपचार प्रारम्भ भयो । अाफै रोगी बनेर अस्पताल भर्ना भएपछि उसले मान्छेहरुलाई यमलोकका लागि उठाउन पाएन । जताततै रोगी नै रोगी तर मर्न चाँहि कोही मर्दैनन् । रोगीहरुको चापले चोक , चौराह , गोरेटो , दोबाटो , पार्क , सडकपेटीहरु समेत उपचार यार्ड बन्न पुगे ।

उता स्वर्गमा *****

चित्र गुप्तले यमलोकमा अाएकाहरुको खातापाता हेरेर कामको प्रकृति अनुसार कसैलाई स्वर्ग र कसैलाई नर्क पठाउनु पर्ने नियम अनुसार धर्तीबाट अाएकाहरुसँग अामने सामने बसेर अन्तर्वाता लिने चलन छ । यसै क्रममा उनलाई समेत कोरोनाले छोयो । उता धरतीमा काल सङ्क्रमित , यता यमलोकमा चित्र गुप्त सङ्क्रमित । जसरी धर्ती मानिसका रोगी शरीरहरुको जाम लाग्यो त्यसरी नै यमलोकमा पनि मरेका अात्माहरुको जाम लाग्यो । चित्र गुप्त नै रोगले थला परेपछि न धर्मात्माहरुले स्वर्ग जानपाए न त पापात्माहरुले नर्कमा नै ।

यता धर्ती अनि उता यमलोक दुबै तिर अस्तब्यस्तता छायो ।

तत्काल , यस्तो जटिल समस्या समाधान गर्ने जुक्ति न त्रिदेबले निकाल्न सके न त यमराजले नै । धेरै दिनसम्म यस्तै अस्तब्यस्तता छाइरह्यो । तर सकारात्मक पक्ष चाँहि के भने उता यमलोकमा चित्र पुप्तको उपचारमा अस्विनीकुमार अहोरात्र खटेका थिए भने यता कालका लागि डक्टरहरु छँदै थिए ।

केहि समय पछि******

दैवसँयोग के भयो भने , यता धर्तीका डक्टरहरुले कोरोनाको भ्याक्सिन पत्ता लगाएकै दिन उता अस्विनीकुमारले समेत स्वर्गमा कोरोनाको जडिबुटी पत्ता लगाएछन् । लामो उपचार पछि काललाई पनि निको भयो र चित्र गुप्तलाई पनि । दुबै अा – अाफ्नो काममा फेरि खटिए ।

यो सबै हुनुमा चित्र गुप्तको कुनै दोष थिएन । दोष कालकै थियो । काल अाफ्नो मुर्खता अनि अज्ञानतामा फेरि अर्को पटक पनि नराम्रसँग फस्यो ।

धर्तीमा एक चरणको सबै काम जसोतसो सकेर काल फेरि निरास अनि हतास भएर कैलाश फर्कियो । पहिलेको झैं रोइकराई गरेर फेरि अदृश्य बनाइ दिन महादेवका अगाडि बिन्ति गर्न थाल्यो । यसपटक चाँहि महादेव उसलाई माफ गर्ने पक्षमा थिएनन् । ब्रम्हा , विष्णु , यमराज , चित्रगुप्त , इन्द्र लगायत देवगण पनि कालसँग रुष्ट बनेका थिए । पटक पटक गलत गर्नेलाई अब चाँही माफ गर्नुहुन्न भन्ने निष्कर्षमा सबै पुगे । कालले हजार बिन्ती गर्दा पनि केहि सीप चलेन । अन्ततः उसलाई जिम्मेवारीबाट मुक्त गरेर नयाँ काललाई नियुक्ति दिइयो ।

पुरानो काल हिजोआज बेरोजगार छ अरे ? भन्ने सुनिएको छ ।

अस्तु ……

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७६ चैत्र २७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP