नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले मंगलबार संसदको शून्य समयमा स्वस्थानीका पाना च्यात्नुपर्छ भनिन्। उनको अभिव्यक्तिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा धेरैको ध्यान खिच्यो।
हिन्दूहरुले आदरपूर्वक लिने स्वस्थानीलाई च्यात्नुपर्छ भन्दा धेरैले अपाच्य अभिव्यक्तिका रुपमा लिएका छन्। सामाजिक सञ्जालमा उनको विरोध पनि भइरहेको छ।
आखिर किन उनले स्वस्थानी च्यात्नुपर्छ भनिन्?
उनको प्रष्टोक्ति छ, ‘मैंले स्वस्थानीमा भएका महिला विरोधी, छाउपडीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने खालका गलत विषयलाई हटाउनु पर्छ भनेको हुँ।’ यसै विषयमा हामीले सांसद गुरुङसँग छोटो कुराकानी गरेका छौं।
तपाईंले स्वस्थानी च्यात्नुपर्छ भनेर किन संसदमै बोलेको?
हामीले छाउपडी जस्तो एक प्रकारको कुसंस्कारको विरोध गर्दै अभियान चलाइ रहेका छौं। यो लामो समयदेखि छाउका विरुद्धमा कसैले भत्काउने, कसैले चेतनामूलक अभियानमा लाग्नुभएको छ। छाउगोठमा गएर बार्नुपर्ने र त्यसैबाट ज्यान जाँदा हामी अलि बढी संवेदनशील भयौं। तर छाउसँग जोडिएका मूल्यमान्यताहरु संस्कार संस्कृतिहरुलाई हामीले विरोध गरेनौं।
जसले गर्दा जरो चाहिँ कायमै राख्ने, हाँगा छिमलेर मात्रै समस्याको समाधान हुन्छ भन्ने मलाई लागेन। हामीले छाउको विरोध गर्ने हो भने, कहाँबाट सुरु भयो? कसरी सुरु भयो? यसलाई निर्मूल गर्न के गर्नुपर्ने हुन्छ। यी सबै कुरा चाहिँ बुझ्नुपर्छ।
यसमा विशेष गरेर हाम्रा धर्म संस्कृतिसँग जोडिएका विषयले धर्मलाई जटिल बनाउँदै लगेको देखिन्छ। सुरुमा त हामी प्रकृति पूजक हो। विकास हुँदै जाने क्रममा हामीले धेरै खालका विकृत ल्याएका छौं। धर्मको नाममा रहेका विकृतिहरुको विरोध नगरी छाउ हटाउन सकिँदैन।
मैले ऋषि पञ्चमीलाई केन्द्रित गरेको हो। ऋषि पञ्चमीमा हामी हामीले गर्ने व्रत ३६५ दिन छाउ भएको बेलामा हामीले पाप व्यहोरेका छौं। त्यो पाप चाहिँ धोइ पखाली गरी पुण्य पाउनुपर्छ। अन्यथा अर्को जन्ममा पशुको जन्म हुन्छ भन्ने कथा जोडिएको छ।
त्यस्तै स्वस्थानीको कथामा पनि यस्ता विकृति छन्। जस्तो स्वस्थानीको प्रसाद श्रीमानलाई दिने श्रीमान नभए छोरालाई, छोरा नभए मित छोरा र मित छोरा पनि नभए खोलामा बगाउने भन्ने उल्लेख छ। त्यहाँ किन छोरीलाई दिने भनिए? कोही नभए आफैँ खाने चाहिँ किन भनिएन?
अर्को तर्फ स्वस्थानीले बलात्कारलाई जायज बनाइएको छ। वृन्दाको राक्षसी स्वभावको श्रीमान जालन्धरलाई मार्न नसकेपछि यसको शक्ति के मा छ भन्ने खोजी हुन्छ। वृन्दाको सतित्व नै जालन्धरको शक्ति हुन्छ, अब उसलाई हराउन वृन्दाको सतित्व हरण गर्नुपर्ने हुन्छ।
उनको सतित्व हरण गर्नका लागि विष्णुले भेष बदलेर श्रीमानका रुपमा सतित्व नष्ट गरेको उल्लेख छ। यसले बलात्कारलाई एक ढंगले जायज हो भन्ने मान्यता दिएको छ।
गोमाको प्रसंगमा पनि सात वर्षको बालिकालाई ७० वर्षको वृद्धसँग विवाह गराउँदा पनि जायज हुन्छ भन्ने उल्लेख गरिएको छ। स्वस्थानीमा भएका यस्ता कथाहरुले नेपाली महिलाहरुलाई धर्म संस्कृतको नाउमा लिप्त बनाउने, कुसंस्कारको शिकार बनाउने काम भएको छ।
पश्चिमा क्षेत्रमा भएको संस्कार पनि यस्तै कुसंस्कार हो। त्यहाँ छाउ बार्न छुट्टै गोठमै गएर बस्नुपर्ने चलन छ र गाउँ सहरदेखि पूर्व नेपालसम्म भने मिन्स भएको बेलामा छोइछिटो बार्ने चलन छ।
पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्यामा पनि यही कुसंस्कारको कारण भएको जस्तो देखिन्छ। किनकी उनी पूजा लगाउन पशुपति गए पनि मिन्स भएका कारण श्रीमतीलाई लगेनन्। त्यहाँ सँगै नजाँदा त्यो घटना भयो, यदि सँगै गएको भए त्यो घटना हुँदैन थ्यो कि? यो पनि एक प्रकारको छाउ नै हो।
छाउसँग जोडिएर आएका धर्म छन् भने त्यसलाई परिवर्तन गर्नुपर्छ। त्यो एउटा सन्र्दभमा ठीक थियो होला तर अहिले पनि ठीक छ भन्न सकिँदैन। समयक्रमसँग त्यसमा कुसंस्कारहरु थपिँदै गएका छन्।
मैंले हिजो संसदमा बोल्ने क्रममा स्वस्थानी सबै च्यानुपर्छ भनेको छैन। मान्नेलाई मान्न हुँदैन पनि भनेको छैन, मान्ने स्वतन्त्रता उसलाई छ। तर त्यसभित्र भएका नकारात्मक सन्देश दिइरहेको छ। गलत संस्कृतिको जगेर्नौ गर्ने गरेको छ, त्यसलाई बदलौं भनेको हो।
च्यात्नुपर्छ भने पनि त्यसको लाक्षणिक अर्थ बदल्नु पर्छ भनेको हो। एउटा पाना च्यातेर फ्याल्नुल्नुपर्छ भनेको एउटा स्टेपबाट अर्को स्टेपमा जानुपर्छ भनेको हो।
तपाईंको भनाईले धार्मिक आस्थामाथि आक्रमण गरेको छ भन्ने आरोप पनि लागेको छ नि?
यसलाई कसरी लिने त्यो व्यक्ति स्वयम्को चिन्तनको कुरो हो। मलाई भन्नुहुन्छ म कुनै धर्म मान्दिन। तर मेरो धारणा के हो भने सबै धर्महरुमा राम्रा कुराहरु पनि छन्। राम्रा कुरा जति सबैलाई स्वीकार गरौं। नराम्रो कुरालाई छाडौं। महिला उत्पीडनसँग जोडिएर आउने कथा बदल्न पर्छ। महिलालाई दमनकारी र दास बनाउने खालका विषयहरु हटाउनुपर्छ।
यो कदममा सरकारले चालेका कदम पर्याप्त छ त?
छाउ गोठ भत्काएर मात्र हुँदैन। मानिसको दिमागमा रहेको छाउ पनि हटाउनुपर्छ। छाउ पश्चिममा मात्रै छैन। पूर्वदेखि पश्चितमसम्म गाउँदेखि शहरसम्म छाउ कुनै न कुनै रुपमा रहेको छ। छाउ भनेको प्राकृति प्रक्रिया हो।
जसरी फूलेको फूल भगवानलाई चढाइन्छ त्यसै गरी मिन्स हुँदा पनि फूल फूलेकै जस्तो त हो नि। महिलाहरु मिन्स भएपछि न गर्भाधान हुन्छ। महिनावारी नभएको महिलामा गर्भाधान हुँदैन। त्यस्तो अवस्था अशुद्ध हुने भन्ने हुँदैन।
छाउ हटाउन सरकारले प्रयास गरिरहेको छ। यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्छ।
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण पहिलो पटक पुष्टी...