२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

भारतमा ९० नेपाली चार दिनदेखि भोकै

रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली भोकभोकै पर्न थालेका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली लकडाउनका  कारण भोकै बस्न बाध्य भएका हुन् ।

भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा मजदुरी गर्ने ९० जना एउटा स्कुलमा बसेको चार दिनदेखि खाद्यान्न नभएका कारणले भोकै रहेको दैलेख गुराँस गाउँपालिका– ७ का कर्ण थापाले बताए । ‘चार दिन भयो खाना पनि खाएका छैनौँ,’ उनले भने, ‘बाहिर निस्कन पनि दिइएको छैन । राहतका लागि भारतमा पहल गर्दा कुनै ठाउँबाट खाद्यान्न पाएनौँ ।’

मजदुरी नहुँदा भोकै रहेको बैजनाथ गाउँपालिका– ३ बाँकेका रामबहादुर थापाले बताए । ‘मजदुरी गरेर केही पैसा बाँचेको थियो, त्यो पनि सकियो,’ उनले भने, ‘हामी कर्णालीका गरेर ९० जनाजति छौँ । हामी भोकले मर्न थाल्यौँ ।’ नेपाल सरकारले गर्ने जुनसुकै निर्णय मान्न आफूहरू तयार रहेको तर सरकारले उद्धार गरेर नेपालमा लैजानुपर्ने शिवालय गाउँपालिका– ४ सल्यानका लालबहादुर रावतले बताए । ‘नेपाल सरकारले गर्ने जुनसुकै काम मान्न हामी तयार छौँ,’ उनले भने, ‘नेपालमा जाने वातावरण मिलाउन सरकारसँग आग्रह गर्छौं ।’

भारतमा आफूहरू भोकै मर्न लागेको र खान–बस्नको समस्या भएको ढुंगेश्वर गाउँपालिका– १ दैलेखका उदय खत्रीले बताए । ‘भारत सरकारसँग राहत माग्न ६ दिन जाँदा पनि पाइएन,’ उनले भने, ‘हामीलाई  नेपाल  सरकारले नेपाल झिकाउनुपऱ्यो, आउन चाहन्छौँ । कि हामीलाई भारतमा खानाको व्यवस्थापन गर्नुपऱ्यो ।’

भारत सरकार र नेपाल सरकारले व्यवस्था नगर्दा अब बाँच्ने आस पनि मरिसकेको गुराँस गाउँपालिका–६ दैलेखका रमेश थापाले बताए । ‘कोरोनाभन्दा हामी यहाँ भोकले मर्न थाल्याैँ,’ उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई भनेमा केही हुन्छ कि ?’
 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP