२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

नयाँवर्ष नजिकिदै गर्दा सुदूरपश्चिममा कोरोनाको अत्याधिक जोखिम

नयाँवर्ष नजिकिदै गएको छ । नयाँवर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘बिसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठुलो संख्यामा घर फर्कन्छन् । यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ ।

‘नेपालीहरु कामगर्ने प्रायः भारतका सहरहरुमा कोरोनाभाईरस देखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘बिसु मनाउन दिनहुँ हज्जारौँको संख्यामा नेपाली आउछन् । यस्तोमा कोरोना नआउला भनेर ढुक्क हुने अवस्था छैन् ।’
भारतमा शनिबारको तथ्याङ्क अनुसार कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । पाँचजनाको मृत्यु भईसकेको छ ।

नेपालीहरु काम गर्ने राज्यहरु दिल्ली, महाराष्ट्र, उत्तरखण्ड, कर्नाटक, गोवा, पन्जाब, हिमाचल लगायतमा यतिबेला कोरोना भेटिएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुले भारतमा अझै व्यापक मात्रामा कोरोना फैलनेसक्ने सम्भावना देखाएका छन् । यस्तोमा स्वदेश फर्कने नेपालीहरुमा संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै बढी हुने स्वास्थ्यकर्मीहरु बताउछन् । ‘बिसुको बेला सीमामा अत्याधिक चाप नै हुन्छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने,‘त्यो चापले सुदूपश्चिमलाई ठुलो जोखिम ल्याउनसक्छ ।’

पछिल्ला केहीदिनयता सरकारले सुदूरपश्चिमका मुख्य नाकाबाहेक अन्य नाका बन्द गरेको छ । मुख्य नाकामा ‘स्क्रिनिङ’ गरेर जोखिम घटाउने प्रयत्न गरिएको छ । तर त्यसले मात्रै सम्पूर्ण जोखिम न्युनिकरण गर्न नसकिने मलासी बताए । उनले भने,‘कोरोनाको ‘ईक्यूभेशन पिरियड’९संक्रमण देखिने समय० कुनै मान्छेमा दुईदिन कुनैमा १४ सम्म नि हुन्छ । यस्तो अवस्थामा स्क्रिनिङ गर्दा नभेटिएर पछि भेटिनसक्छ ।’

विसुसंगै जोखिम बढीरहेका बेला सरकारको नजर भने यसतर्फ गईरहेको छैन् । अझैपनि सरकारले सचेतनाबाहेकका पूर्वतयारीहरु पर्याप्त रुपमा गरेको छैन् । जसले जनस्तर त त्रसित छ नै, स्वास्थ्यकर्मीहरु पनि चिन्तित छन् ।

प्रदेशभरी नै स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को अभाव छ । ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु सुरक्षित ढंगबाट ‘स्वाँब’ लिने बिधिबारे अनभिज्ञ छन् । स्वास्थ्यसंस्थाहरुमा पर्याप्त औषधि तथा उपकरणहरु छैनन् । जसले स्वास्थ्यकर्मीहरु समेत त्रसित छन् ।

‘यो एकदमै छिटो संक्रमण हुने भाईरस हो, त्यसैले यसको उपचारमा संलग्न स्वास्थ्यकर्मी एकदमै सुरक्षित रहनुपर्छ,’ शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाह भन्छन्,‘यसका लागि चाहिने लुगा कुनैपनि स्वास्थ्यकर्मी र संस्थासंग छैन् ।’ यही कारण नै स्वास्थ्यकर्मीहरु बढी त्रसित रहेको उनले बताए ।

कोरोनाभाईरस संक्रमणको जोखिमको सामना गर्न सुदूरपश्चिममा ‘अन्य प्रदेशको तुलनामा राम्रो’ तयारी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलका निर्देशक डा.गुणराज अवस्थीले बताए । ‘उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै हामीले अन्य प्रदेशको तुलनामा उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने,‘त्यसैले चिन्ता मान्नुपर्दैन् ।’

चिकित्सक÷स्वास्थ्यकर्मी, औषधि÷उपकरण, उपचार स्थान सबैको उत्कृष्ट तयारी भएको उनले बताए । ‘के ? कहाँ ? अहिले नभनौ तर, उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने । सबैले व्यक्तिगत सरसफाईमा ध्यान दिए कोरोनाको जोखिम घटेर जाने उनले बताए । उनले भने, ‘सबै नमस्कार गरौँ । व्यक्तीगत सरसफाईमा ध्यान दिऔँ, कोरोनाको जोखिम घट्छ ।’

सुदूरपश्चिमका सीमा नाकाबाट तत्काल भारत नजान आग्रह

सुदूरपश्चिमका सीमा नाकाबाट एक हप्ताका लागि भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा निर्देशक समितिले सीमा नाकाबाट एक हप्ता सम्म भारत प्रवेश नगर्न आग्रह गर्ने निर्णय गरिएको हो।

मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिह ओलीले दिनेश खबरलाई बैठकमा भारत नजान सबैलाई आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए। ओलीका अनुसार बैठकमा कोरोनाको संक्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको थियो।

कोरोना नियन्त्रण तथा निर्देशक समितिका अध्यक्ष समेत रहेका मुख्यमन्त्री भट्टको अध्यक्षतमा बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, मन्त्रालयका सचिव, कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड लगायतको सहभागिता रहेको थियो। 

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०७६ चैत्र ८

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP