२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

पालिका पूर्ण खोप घोषित बालबालिका कुपोषित

बैतडी – बैतडी जिल्ला हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आए पनि खोप पाएका बालबालिकाले पोसिलो खाना नपाउँदा कुपोषित बालबालिकाको समस्या बढ्दै गएको छ। २०७२ सालमै बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसके पनि हाल पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ।

सोमबार बैतडी जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। १६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य शाखा संयोजकको सहभागितामा बैतडी सदरमुकाममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि १० स्थानीय तहले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका छन्।

खोप पाएका बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति बढ्ने भनिए पनि कुपोषित बालबालिकाको सङ्ख्या बढेको बढ्यै छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक २०७८÷७९ मा एक हजार ९३४ जना बालकालिका कुपोषित भेटिएका छन्। तीमध्ये ३१२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन्। उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ। स्वास्थ्य कार्यालय प्रमुख भट्टले कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए ।

स्थानीय तहले खोपको सुनिश्चिततासँगै पोषणको सुनिश्चितता पनि गर्नुपर्ने उनले बताए । “पोषण सुधार गर्न यो वर्ष स्थानीय सरकार झनै उदासीन बनेको देखियो। पोषणको अवस्था के कस्तो छ ? भन्ने कुराको अनुगमनसमेत गरेका छैनन”, उनले भने ।

१०६ जना बालबालिका कुपोषित

गत वर्षको तुलनामा यो वर्ष बालबालिकाको वृद्धि अनुगमन ५२ प्रतिशतले घटेको छ। यो वर्ष १०६ जना बालबालिका कुपोषित भेटिएका छन्। अनुगमन गर्ने हो भने यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ। एक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० को जेठ मसान्तसम्म ४८ प्रतिशत अनुगमन हुँदा १०६ जना बालबालिका कुपोषित भेटिएका छन्।

कुपोषितको तथ्याङ्क अनुसार यो वर्ष डिलासैनी गाउँपालिकामा सात, दोगडाकेदार गाउँपालिकामा १३, पुरचौडी नगरपालिकामा १५, सुर्नया गाउँपालिकामा तीन, दशरथचन्द नगरपालिकामा सात, पञ्चेश्वर गाउँपालिकामा १४, शिवनाथ गाउँपालिकामा ११, सिगास गाउँपालिकामा २१, मेलौली नगरपालिकामा सात र पाटन नगरपालिकामा आठ जना कुपोषित बालबालिका भेटिएका छन्।

कुपोषित बालबालिकाको खोज तथा उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोसिलो खाना कार्यक्रम सञ्चालन गरिएको छ। कुपोषित बालबालिकाको खोजी कार्य नै नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।

पोसिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको छ। पोषण सुधार गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ। गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा रहेको छ।

युएसआइडीको आर्थिक सहयोगमा आठ वर्षदेखि सुआहारा कार्यक्रमले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्थाका राधिका भट्टले बताए ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० असार ६

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP