२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कैलालीका संक्रमित भन्छन् : मलाई त केही भएकै छैन

भारतको मुम्बईस्थित एक होटलमा काम गरिरहेका लम्कीचुहा नगरपालिका २१ बर्षीय युवकलाई फागुनको अन्तिम साता घरबाट आमाको फोन आयो । सधैं सन्चो बिसन्चो र हालखबर सोध्ने आमाले यसपटक भने उनलाई घर फर्कन आग्रह गरिन् ।

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको खबर सुनेपछि उनकी आमाले आत्तिँदै फोन गरेकी थिइन् । छोरालाई संक्रमण सर्ला भन्ने पिरलो थियो उनलाई । तर, उनले नचाहेकै कुरा भयो ।

आमाले भनेपछि ती युवक पनि काम छोडेर घर फर्किए । तर, घर आइपुग्दासम्म कोरोनाबाट भने जोगिन सकेनन् । गत शनिबार उनको परीक्षण रिपोर्ट पोजिटिभ आयो । उनी अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

उनलाई अझै पनि आफूमा संक्रमण भएको विश्वास लागेको छैन ।

‘मलाई अहिले पनि केही समस्या छैन,’ युवकले भने, ‘सबैले कोरोना लागेको छ भन्छन्, तर पत्यार नै लाग्दैन ।’

कैलालीको प्रतापपुरस्थित लम्की चुहाँ नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ११ दिन बसेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको हो ।

‘यहाँ ल्याउँदासम्म पनि मलाई संक्रमणबारे कसैले केही भनेनन् । थप चेकजाँचको लागि ल्याएको मात्र भनेका थिए,’ उनले सुनाए ।

क्वारेन्टाइनमा हुँदा नै उनको स्वाब संकलन भएको थियो । त्यहीँ नै उनी संक्रमित बनेको पुष्टि भयो । तर, उनले भने धनगढी पुगेपछि मात्रै थाहा पाए । तर, अझै पनि विश्वास मानिरहेका छैनन् ।

‘११ दिन क्वारेन्टाइनमा बसे । ६ दिनदेखि यहाँ छु । अहिलेसम्म पनि मलाई कुनै समस्या देखिएको छैन,’ उनले भने, ‘मलाई त कुनै संक्रमण नै छैन जस्तो लाग्छ ।’

उनलाई संक्रमण पुष्टि भएपछि घरमा सन्नाटा छायो । परिवार र आफन्त चिन्तित भए ।

उनी भन्छन्, ‘धेरैले फोन गर्नुभयो । घरका सबै रोए । तर, मलाई त केही भएको थिएन । अरु किन रुन्छन् जस्तो लाग्यो ।’

उनलाई भेट्न अहिले परिवारका कुनै सदस्य अस्पताल पुगेका छैनन् । तर, फोनमा भने सधै कुरा हुने गरेको उनी बताउँछन् ।

‘घर केही टाढा छ । त्यसैमाथि लकडाउन छ । त्यसैले कोही भेट्न आउन पाउनुभएको छैन,’ उनले भने, ‘फोनमा भने सधैं सबैसँग कुरा हुन्छ ।’

उनलाई सान्त्वना दिन फोन गर्नेहरु धेरै छन् । उनको दोस्रो पटक परीक्षणका लागि नमूना संकलन गरिएको छ । आज–भोलिमा दोस्रो रिपोर्ट आउने सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीले बताए ।

कसरी फर्के घर ?

आमाले आग्रह गरेपछि उनी काम बन्द हुनुभन्दा पहिले नै बिदा लिएर घर हिँडेका थिए । गत चैत ८ गते मुम्बईबाट हिँडेका उनी १० गते कैलालीको गौरिफन्टा नाकामा पुगे । सरकारले सीमा बन्द गरेकाले नाकामा २८ घण्टा अलपत्र परे ।

११ गते राति उनीलगायत एक हजारभन्दा बढिलाई उद्धार गरियो । स्थानीय प्रशासनले पहिले पहाडी जिल्लाका नागरिकलाई घर पुग्ने व्यवस्था गरेको थियो । उनीसँगको भीडमा कैलालीका २ सय ९३ जना थिए ।

१३ गते बिहान प्रतापपुर बजार पुगेका उनी त्यहाँबाट अटो चढेर घर पुगे । उनी सवार अटोमा अन्य चार जना चढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

बिहान करिब ७ बजे घर पुगेका उनी त्यसपछि कसैको सम्पर्कमा नरहेको बताउँछन् ।

‘नुहाइ–धुवाइ गर्दागर्दै गाउँको एउटा दाइले तपाईंहरु त क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि हामी क्वारेन्टाइनमा गएका हौँ,’ उनले भने, ‘घरमा हुँदा पनि कसैको नजिक परिनँ ।’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP