२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कैलालीका संक्रमित भन्छन् : मलाई त केही भएकै छैन

भारतको मुम्बईस्थित एक होटलमा काम गरिरहेका लम्कीचुहा नगरपालिका २१ बर्षीय युवकलाई फागुनको अन्तिम साता घरबाट आमाको फोन आयो । सधैं सन्चो बिसन्चो र हालखबर सोध्ने आमाले यसपटक भने उनलाई घर फर्कन आग्रह गरिन् ।

भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको खबर सुनेपछि उनकी आमाले आत्तिँदै फोन गरेकी थिइन् । छोरालाई संक्रमण सर्ला भन्ने पिरलो थियो उनलाई । तर, उनले नचाहेकै कुरा भयो ।

आमाले भनेपछि ती युवक पनि काम छोडेर घर फर्किए । तर, घर आइपुग्दासम्म कोरोनाबाट भने जोगिन सकेनन् । गत शनिबार उनको परीक्षण रिपोर्ट पोजिटिभ आयो । उनी अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

उनलाई अझै पनि आफूमा संक्रमण भएको विश्वास लागेको छैन ।

‘मलाई अहिले पनि केही समस्या छैन,’ युवकले भने, ‘सबैले कोरोना लागेको छ भन्छन्, तर पत्यार नै लाग्दैन ।’

कैलालीको प्रतापपुरस्थित लम्की चुहाँ नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ११ दिन बसेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको हो ।

‘यहाँ ल्याउँदासम्म पनि मलाई संक्रमणबारे कसैले केही भनेनन् । थप चेकजाँचको लागि ल्याएको मात्र भनेका थिए,’ उनले सुनाए ।

क्वारेन्टाइनमा हुँदा नै उनको स्वाब संकलन भएको थियो । त्यहीँ नै उनी संक्रमित बनेको पुष्टि भयो । तर, उनले भने धनगढी पुगेपछि मात्रै थाहा पाए । तर, अझै पनि विश्वास मानिरहेका छैनन् ।

‘११ दिन क्वारेन्टाइनमा बसे । ६ दिनदेखि यहाँ छु । अहिलेसम्म पनि मलाई कुनै समस्या देखिएको छैन,’ उनले भने, ‘मलाई त कुनै संक्रमण नै छैन जस्तो लाग्छ ।’

उनलाई संक्रमण पुष्टि भएपछि घरमा सन्नाटा छायो । परिवार र आफन्त चिन्तित भए ।

उनी भन्छन्, ‘धेरैले फोन गर्नुभयो । घरका सबै रोए । तर, मलाई त केही भएको थिएन । अरु किन रुन्छन् जस्तो लाग्यो ।’

उनलाई भेट्न अहिले परिवारका कुनै सदस्य अस्पताल पुगेका छैनन् । तर, फोनमा भने सधै कुरा हुने गरेको उनी बताउँछन् ।

‘घर केही टाढा छ । त्यसैमाथि लकडाउन छ । त्यसैले कोही भेट्न आउन पाउनुभएको छैन,’ उनले भने, ‘फोनमा भने सधैं सबैसँग कुरा हुन्छ ।’

उनलाई सान्त्वना दिन फोन गर्नेहरु धेरै छन् । उनको दोस्रो पटक परीक्षणका लागि नमूना संकलन गरिएको छ । आज–भोलिमा दोस्रो रिपोर्ट आउने सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीले बताए ।

कसरी फर्के घर ?

आमाले आग्रह गरेपछि उनी काम बन्द हुनुभन्दा पहिले नै बिदा लिएर घर हिँडेका थिए । गत चैत ८ गते मुम्बईबाट हिँडेका उनी १० गते कैलालीको गौरिफन्टा नाकामा पुगे । सरकारले सीमा बन्द गरेकाले नाकामा २८ घण्टा अलपत्र परे ।

११ गते राति उनीलगायत एक हजारभन्दा बढिलाई उद्धार गरियो । स्थानीय प्रशासनले पहिले पहाडी जिल्लाका नागरिकलाई घर पुग्ने व्यवस्था गरेको थियो । उनीसँगको भीडमा कैलालीका २ सय ९३ जना थिए ।

१३ गते बिहान प्रतापपुर बजार पुगेका उनी त्यहाँबाट अटो चढेर घर पुगे । उनी सवार अटोमा अन्य चार जना चढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

बिहान करिब ७ बजे घर पुगेका उनी त्यसपछि कसैको सम्पर्कमा नरहेको बताउँछन् ।

‘नुहाइ–धुवाइ गर्दागर्दै गाउँको एउटा दाइले तपाईंहरु त क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि हामी क्वारेन्टाइनमा गएका हौँ,’ उनले भने, ‘घरमा हुँदा पनि कसैको नजिक परिनँ ।’

Related News

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
  • २०७६ चैत्र २८

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी...

TOP